राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनको उद्घाटन काठमाडौंको भृकुटीमण्डपमा हुने भएको छ । ११-१३ मंसिरमा तय भएको महाधिवेशनको उद्घाटन अध्यक्षत्रय कमल थापा, पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले गर्नेछन् । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ५ सय भन्दा बढी प्रतिनिधिले भाग लिने राप्रपाले जनाएको छ ।
‘भृकुटीमण्डपमा चार दिनसम्म चल्ने महाधिवेशनमा देश तथा विदेश गरी ४५ सयभन्दा बढी प्रतिनिधिले सहभागीता जनाउने छन्,’ प्रचार विभागका संयोजक मोहन श्रेष्ठले भने, ‘महाधिवेशनमा सहभागी हुन १५ जना प्रतिनिधि विदेशबाट नेपाल आउने छन् ।’
उनका अनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष ३ सय ३०, संघीय निर्वाचन क्षेत्रका अध्यक्ष १ सय ६५, जिल्ला अध्यक्ष ७७ जना, प्रदेश अध्यक्ष ७ जना स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् । यसको टुङ्गो लागिसकेको छ । अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभाबाट चुनिएर आउने प्रतिनिधिको भने टुङ्गो लाग्न बाँकी छ ।
प्रत्येक प्रदेशस्तरबाट हुने निर्वाचनबाट ९-९ जना गरी २ हजार ९ सय ७० जना प्रतिनिधिका लागि भने मंसिर ३ गतेबाट मतदान प्रक्रिया सुरु हुनेछ ।
उनका अनुसार खसआर्य ३, महिला ३, जनजाति १, दलित १ र अल्पसंख्यक समुदायबाट १ गरी प्रत्येक प्रदेशबाट ९ जना प्रतिनिधि चयन हुँदैछन् ।
२६ देशमा संगठन विस्तार गरेको राप्रपाले १५ प्रतिनिधि प्रवासबाट र अधिवेशन सम्पन्न गरेका भ्रातृ संगठनबाट ४-४ जनाको प्रतिनिधि पार्टी महाधिवेशनमा सहभागी हुने श्रेष्ठले जानकारी दिए ।