नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेस पर्वतको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो ।
यसैगरी जिल्ला उपसभापति, सचिव र सहसचिवका लागि रु २५ हजार शुल्क तोकिएको छ । महाधिवेशन प्रतिनिधिका लागि पनि रु २५ हजार शुल्क तोकिएको छ । जिल्ला कार्यसमिति सदस्यका लागि रु १० हजार, क्षेत्रीय सभापतिका लागि रु १५ हजार र प्रदेश प्रतिनिधिका लागि रु १० हजार तोकिएको छ ।
तर यो शुल्क ऐच्छिक भएको कांग्रेसका जिल्ला सभापति खिमप्रसाद भुसालले बताएका छन् । “जिल्ला तहको अधिवेशन सम्पन्न गर्ने खर्च व्यवस्थापन गर्न उमेदवारबाटै आर्थिक सहयोग जुटाउने निर्णय भएको हो”, उनले भने, “दलित, महिला, अल्पसङ्ख्यक र पिछडिएको क्षेत्रका उमेदवारलाई भने तिर्नुपर्छ भन्ने बाध्यात्मक अवस्था छैन ।”
केन्द्रीय निर्वाचन निर्देशिकाले भने जिल्ला कार्यसमिति सभापति निर्वाचनलाई रु १० हजार, उपसभापति र सचिवका लागि रु ७ हजार, सहसचिवका लागि रु ६ हजार र सदस्यका लागि रु ३ हजार शुल्क तोकेको छ । यस्तै प्रदेश सभा क्षेत्रीय कार्यसमितिका लागि सभापतिलाई रु ५ हजार, उपसभापति र सचिवलाई रु ३ हजार, सहसचिवलाई रु २ हजार ५०० र सदस्यलाई रु २ हजार शुल्क निर्धारण गरिएको छ ।