नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा सवारी साधनहरू चलाउन रोक लगाइएको भएपनि अत्यावश्यक सवारी भने नरोकिने भएको छ । एम्बुलेन्स, दमकल, विवाह, व्रतबन्ध, प्रेसलगायतका सवारी साधन भने व्यवस्थापन गरेर सञ्चालन गर्न दिइने चितवनका प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताए ।
प्रजिअ तामाङका अनुसार पूर्व पश्चिम राजमार्ग र मुग्लिन-नारायणगढ सडकबाट आउने सवारीलाई पनि वैकल्पिक मार्ग व्यवस्थापन गरिएको छ । उनले भने, “यात्रा गर्नेलाई सकेसम्म सहज हुने गरी व्यवस्थापन गरिएको छ, अत्यावश्यक सवारी कहीँ पनि रोकिँदैनन् ।” मानिसको चाप धेरै भएको ठाउँमा सवारी साधनसमेत चलेमा दुर्घटना हुनसक्ने भएकाले पूर्वतयारीका साथ सावधानी अपनाइएको उनले बताए ।
नारायणीको पुल, बाह्रघरे, बेलचोक, त्रिचोक, केन्द्रीय बस टर्मिनल, बाइपास सडक र आँपटारी क्षेत्रभित्रको सडकमा अत्यावश्यकबाहेकका सवारीलाई रोक लगाइँदै छ । बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार सुरक्षा प्रबन्धको सबै खालको व्यवस्थापन गरिएको छ । गाडी रोकिने नाकामा सुरक्षाकर्मी रहेर सुरक्षाको व्यवस्था गर्ने छन् ।
महाधिवेशनको उद्घाटनस्थल नारायणी नदी किनारमा बनाइएको छ । उद्घाटनमा पाँच लाख सहभागी गराउने नेकपा एमालेले बताउँदै आएको छ ।