१०औं महाधिवेशनको उत्तरार्द्धतिर रहेको एमालेभित्र आगामी नेतृत्व को भन्ने विषयमा सहमतिको प्रयास जारी छ ।
भीम रावलले अध्यक्षमा दाबी गरेपछि सहमतिका लागि लम्बिएको बन्दसत्र अझै सुरु भएको छैन । चितवन यतिबेला भीम रावललाई उपाध्यक्षमा मनाएर केपी ओलीलाई पुनः नेतृत्वमा स्थापित गर्न चाहन्छ ।
रावललको अडान र ओलीको पक्षमा सर्वसम्मतको बहसमा केन्द्रित चितवनमा भेला भएकामध्ये एकजना नेता भने कार्यकारी राजनीतिक जीवनको अन्तिम लडाइँमा छन् ।
२०२९ सालमा अनेरास्ववियुको राजनीतिबाट उदाएका इलामे नेता सुवासचन्द्र नेम्वाङ चितवनमा वरिष्ठ उपाध्यक्ष पाउनुपर्ने अडानमा छन् । उनलाई ओलीले राष्ट्रपतिको आश्वासन देखाए पनि मानेका छैनन् ।
यसका पछि एउटै कारण छ- नेम्वाङका लागि यो महाधिवेशन एमालेको केन्द्रीय पदाधिकारीमा बसेर काम गर्ने पहिलो र अन्तिम अवसर हो ।
संसदीय फाँटमा एमालेको तर्फबाट अवसर नै अवसर पाउँदै आएका नेम्वाङ पार्टी राजनीतिमा भने स्थायी कमिटीबाट माथि पुग्नै सकेका छैनन् । अर्थात् उनी हालसम्म एमालेको केन्द्रीय कमिटीमा पदाधिकारी भएका छैनन् ।
एमाले विधानले ७० वर्ष पूरा भएपछि पार्टीको कार्यकारी पदमा रहन नपाउने भनेको छ । नेम्वाङ १०औं महाधिवेशनमा आइपुग्दा ६८ वर्ष आठ महिनाका भएका छन् ।
यो महाधिवेशनबाट उनी पदाधिकारीमा अटाउन सकेनन् भने ११औं महाधिवेशनमा उनी उमेरहदका कारण स्वतः अवकाशमा परिसकेका हुनेछन् ।
२०६४ र २०७० को संविधानसभा निर्वाचनपछि उनले संविधानसभा अध्यक्षको भूमिका पाए । कानुनमन्त्रीदेखि संसदीय दलको उपनेतासम्म भए । तर पार्टीको पदाधिकारीमा अट्ने यो अन्तिम अवसर हो ।