नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशको ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेद्वारी परेको छ । आज पोखरामा भएको गण्डकी प्रदेश कार्यसमितिको उम्मेदवारी मनोनयनमा सभापति पदमा शुक्रराज शर्मा र अर्जुनप्रसाद जोशीको उम्मेदवारी परेको छ ।
संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ । केही पदमा स्वतन्त्र उम्मेद्वारी पनि परेको छ ।
उपसभापतिमा संस्थापन पक्षले मेखलाल श्रेष्ठ र नेत्र महतलाई उठाएको छ भने संस्थापनइतर पक्षले हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीलाई अघि सारेको छ ।
महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापनइतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेद्वारी दिएका छन् ।
सहमहामन्त्रीमध्ये महिला कोटामा संस्थापन पक्षबाट ओमकला गौतम र संस्थापनइतरबाट कोपिला रानाभाट उठेका छन् । यसैगरी सहमहामन्त्री खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आले तथा संस्थापनइतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेद्वारी परेको छ । सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेद्वारी पनि दिएका छन् । युवराज बस्ताकोटी र गणेश सापकोटा कुनै पनि प्यानलका उम्मेद्वार होइनन् ।
यी पदाधिकारीका अतिरिक्त अधिवेशनले सदस्यमा जिल्लाबाट खुल्ला तथा महिला ११/११, आदिवासी जनजाती खुल्ला पाँच, मधेशी एक, दलित महिला र खुल्ला दुई/दुई, थारु एक, मुस्लिम एक, खस आर्य महिला तथा खुल्ला चार/चार, आदिवासी जनजाति महिला पाँच, दलित खुल्ला दुई, अपाङ्गता भएका/अल्पसङ्ख्यक एक जनासहितका सदस्य निर्वाचित गर्ने निर्वाचन समितिले जनाएको छ ।