नेपाली कांग्रेसको प्रदेश २ अधिवेशन अनिश्चत बनेको छ । प्रदेश अधिवेशनको उद्घाटन भएको ४ दिन भइसक्दा पनि प्रदेश २ मा भने अधिवेशन सुरु हुन सकेको छैन । सबै जिल्लाबाट अधिवेशन प्रतिनिधिहरुको नामावली प्रदेश निर्वाचन समितिलाई प्राप्त हुन नसक्दा तोकिएको समयमा प्रदेश अधिवेशन सुरु हुन नसकेको बताइएको छ ।
प्रदेशका २ का ८ वटै जिल्लामा गरी ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । तीमध्ये सप्तरीको १, रौतहटको १ र सर्लाहीका ४ वटै निर्वाचन क्षेत्रबाट मतदाताहरुको नाम निर्वाचन समितिलाई प्राप्त भएको छैन । कांग्रेस नेता अमरेश सिंह र प्रदेश २ का मन्त्री वीरेन्द्र सिंहबीचको विवादले गर्दा सर्लाहीमा अहिलेसम्म अधिवेशनको वातावरण बन्न सकेको छैन ।
जिल्लाको निर्वाचन समितिबाट प्राप्त हुनुपर्ने मतदाताको नामावली शनिवार साँझसम्म पनि उपलब्ध नभएकाले पूर्वघोषित निर्वाचन तालिकाअनुसार शनिबारसम्म मतदाता नामावली प्रकाशन हुन सकेन ।
रौतहट र सप्तरी जिल्लामा प्रतिनिधि छनोटको काम सम्पन्न भइसकेको बताइए पनि निर्वाचन समितिमा नामावली प्राप्त हुन नसकेको प्रदेश निर्वाचन समितिका सदस्य अरुण कुमार यादवले बताए । 'अहिलेसम्म सबै जिल्लाबाट मतदाताको नामावली प्राप्त हुन सकेको छैन, प्रदेश निर्वाचन समिति सदस्य यादवले भने,‘ मतदाताहरुको नामावाली प्रकाशन नहुँदा आइतबार हुने मनोयन पत्र दाखिला समेत स्थगित भएको छ, यस्तोमा प्रदेश अधिवेशन अनिश्चत बनेको छ ।’
'२० मंसिरसम्ममा निर्वाचन सम्पन्न गर्ने तालिका रहेको भए पनि २० गतेसम्म पनि सबै मतदाताहरुको नामावाली प्राप्त हुने सम्भावना कम छ,' उनले भने, ‘२० गतेसम्म पनि मतदाता नामावली प्राप्त भएको खण्डमा निर्वाचन हुन सक्छ । तर जनकपुरधाममा विवाहपञ्चमी भएकोले पनि निर्वाचन प्रभावित हुन सक्ने सम्भावना हुन्छ । त्यसकारण आज १ बजे सबै पक्षलाई छलफलको लागि बोलाएका छौं । निर्वाचनमा सर्वसम्मतको वातावरण बनेको खण्डमा महाधिवेशन अघि नै प्रदेश अधिवेशन सम्पन्न हुन्छ । नत्र त महाधिवेश पश्चात् पनि हुन सक्छ ।’
कांग्रेसको प्रदेश नेतृत्वको लागि अहिलेसम्म तीन जनाले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरिसकेकाले अधिवेशन सर्वसमहत हुने सम्भावना न्युन रहेको नेताहरुको भनाइ छ ।
सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको समूहबाट रौतहटका सभापति कृष्णा यादव, उपसभापति विमलेन्द्र निधिको समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव र स्वतन्त्रबाट रंजित कर्णले उम्मेदवारी घोषणा गरेका छन् ।
प्रदेश अधिवेशनका पर्यवेक्षक तथा कांग्रेस केन्द्रीय सदस्य रमेश रिजालले भने, 'अधिवेशनमा ८ वटै जिल्लालाई सहभागी गराउने हाम्रो प्रयास हो । तर सर्लाहीको समस्या अझै समाधान नभएकोले सर्लाही छोडेर पनि प्रदेश अधिवेशन गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
यता, निधि समूहका प्रदेश उपसभापति पदका उम्मेदवार प्रफुल्ल घिमिरेले भने, ‘अहिलेको अवस्थामा महाधिवेशन अघि प्रदेश अधिवेशन हुने सम्भावना व्यक्तिगत रुपमा मैले देखेको छैन । सर्लाहीका साथीहरुलाई छोडेर गयो भने यो लोकतन्त्रकको उपहास हुन्छ, यसले पार्टीलाई क्षति हुन्छ । त्यसकारण यो विषयमा पनि पार्टी नेतृत्वले सोच्नुपर्छ ।’