सभापतिको साझा उम्मेदवार तय गर्न नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा बसेको छ ।
बैठकमा नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, प्रकाशमान सिंह, डा.शेखर कोइराला, बलबहादुर केसी, महेश आचार्य, दीपक गिरी, हृदयराम थानी, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, रामकृष्ण यादवलगायत उपस्थित छन् ।
इतर समूहमा सभापतिका आकाङ्क्षी धेरै छन् । रामचन्द्र, प्रकाशमान, डा.शेखर र डा.शशांकले सभापतिमा आफू उम्मेदवार हुने भन्दै प्रचार अभियान नै सुरु गरिसकेका छन् ।
तर इतर समूहका नेताहरू यसरी फुटेर सबैजना उम्मेदवार बन्ने हो भने फेरि पनि सभापतिमा शेरबहादुर देउवा नै दोहोरिने भन्दै इतर समूहका युवा नेताहरूले दुई दिनभित्र सभापतिको साझा उम्मेदवार तय गर्न नेतृत्वलाई दवाव दिएको छ । सोहीअनुसार मङ्गलबार दिउँसो इतर पक्षका नेताहरूको बैठक बसेको हो ।
अहिले सभापतिसहित पदाधिकारीको टिम कसरी बनाएर जाने भन्ने विषयमा छलफल भइरहेको छ ।