शुक्रबार सुरु भएको नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि १३४ पदमा ५४८ जनाको उम्मेदवारी परेको छ । निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेका अनुसार आइतबार (आज) ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय छ भने अन्तिम नामावली मध्याह्न सवा १२ बजे सार्वजनिक गरिनेछ ।
‘अहिले ११ बजेसम्म उमेदवारी फिर्ताको समय छ । उम्मेदवारी फिर्ता गरेपछि कुन कुन पदमा सर्वसम्मत हुन्छ, कुन कुनमा निर्वाचन हुन्छ, हामीले सर्वसम्मत र निर्वाचन हुने पदहरूको अन्तिम नामावली आजै सवा १२ बजे प्रकाशन गर्नेछौँ’, घिमिरेले भने ।
उनका अनुसार केही कलष्टरहरूमा सर्वसम्मत हुने सम्भावना देखिएको छ । सर्वसम्मत नभएका पदमा भने सोमबार (भोलि) बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।
कुन पदमा कति जनाको उमेदवारी?
निर्वाचन समितिका अनुसार सभापति एक पदका लागि शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला, युवराज न्यौपाने र कल्याण गुरुङको उमेदवारी परेको छ ।
उपसभापतिको दुई पदका लागि विजयकुमार गच्छदार, पूणर्बहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला र दिव्येश्वरी शाहले उमेदवारी दर्ता गराएका छन् ।
यस्तै, महामन्त्रीको दुई पदका लागि डा. मीनेन्द्र रिजाल, गगन थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्माले मनोनयन दर्ता गराएका छन् ।
त्यस्तै ८ सहमहामन्त्री पदका लागि २० जनाको उम्मेदवारी परेको छ । १२१ केन्द्रीय सदस्य पदका लागि ५०९ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फको ३५ जना केन्द्रीय सदस्यका लागि १०९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।
दलिततर्फ ९ पदका लागि ३९, महिलातर्फको खुला ९ पदका लागि ३१ जना, खस आर्य १३ जनाका लागि ९३ जना, मधेसीतर्फ ९ पदका लागि ३२ जना, आदिवासी जनजाति १५ पदका लागि ८७ जना, थारु ४ पदका लागि १४ जना, पिछडिएको क्षेत्रको १ पदमा दुई जना, मुस्लिम ३ पदका लागि १६ जना, अल्पसंख्यक १ पदका लागि ६ जना र अपांग १ पदका लागि १६ जनाको उम्मेदवारी रहेको निर्वाचन समितिले जनाएको छ ।