नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सीताराम केसीले मतगणना तीन स्थानमा गरिएको र परिणाम छ घण्टाभित्र आइसक्ने जानकारी दिए ।
कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । महामन्त्री पदमा पार्टीका युवा नेताहरु गगनकुमार थापा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल, डा. राजाराम कार्की र विश्वप्रकाश शर्मा उम्मेदवार छन् ।
कुल ४ हजार ७४३ मतदातामध्ये ४ हजार ६७९ जनाले मतदान गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि मतदान भएको थियो ।
हालसम्म सभापति र उपसभापति पदको मत परिणाम आइसकेको छ । जस अनुसार सभापति पदमा शेरबहादुर देउवा र दुई उपसभापति पदमा पूर्णबहादुुर खड्का र धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने व्यवस्था छ ।
यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी/जनजाती १५, खस/आर्य १३, मधेसी ९, थारु ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसङ्ख्यकबाट १ र अपाङ्बाट १ सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने हालको विधानको व्यवस्था छ ।
यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा उल्लेख छ ।