जापानको राजधानी टोकियोमा आयोजित ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा हुनुपर्ने टोकियो ओलम्पिक एक वर्ष ढिला गरी अहिले भएको हो । विश्व खेलकुदको कुम्भमेला मानिने ओलम्पिक प्रत्येक चार/चार वर्षमा हुँदै आएकामा यस वर्ष पाँच वर्षमा आयोजना भएको हो । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले टोकियो ओलम्पिक दर्शकहरूबिना नै सम्पन्न गरिएको थियो ।
टोकियो ओलम्पिकमा कुल २०५ देशका ११ हजार ३०० खेलाडीले भाग लिएका थिए । खेलाडीले कुल ३३ खेलमा ३४० स्वर्ण, ३३८ रजत तथा ४०२ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । टोकियो ओलम्पिकमा ९३ देश पदक जित्न सफल रहे । तीमध्ये ६५ देशले मात्र स्वर्ण पदक चुम्न पाए । नेपालसहित ११२ देश पदकविहीन बन्न पुगे ।
अमेरिका पदक तालिकाको शीर्ष स्थान हासिल गर्न सफल भयो भने चीन दोस्रो तथा आयोजक जापान तेस्रो स्थानमा रहन पुगे । अमेरिकाले ३९ स्वर्ण, ४१ रजत र ३३ कास्यसहित ११३ पदक प्राप्त गर्न सफल भयो । यस्तै चीनले ३८ स्वर्ण, ३२ रजत र १८ कास्यसहित ८८ पदक तथा आयोजक जापानले २७ स्वर्ण, १४ रजत र १७ कास्यसहित ५८ पदक प्राप्त गरे । यसैगरी पदक तालिकामा बेलायत २२ स्वर्ण, २१ रजत र २२ कास्यसहित चौथो, रसियन ओलम्पिक कमिटी २० स्वर्ण, २८ रजत र २३ कास्यसहित पाँचौँ, अस्ट्रेलिया १७ स्वर्ण, सात रजत र २२ कास्यका साथ छैठौं, नेदरल्याण्डस् १० स्वर्ण, १२ रजत र १४ कास्यसहित सातौँ, फ्रान्स १० स्वर्ण, १२ रजत र ११ कास्यसहित आठौँ, जर्मनी १० स्वर्ण, ११ रजत र १६ कास्यका साथ नवौँ तथा इटली १० स्वर्ण, १० रजत र २० कास्यपदकका साथ १०औँ स्थानमा रहे । दक्षिण एशियाली मुलुकमध्ये भारतले एक स्वर्ण, दुई रजत तथा चार वटा कास्य पदक जित्यो । दक्षिण एशियाका अन्य कुनै पनि देशले पदक प्राप्त गर्न सकेनन् ।
नेपालको सहभागिता
टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले प्रतिस्पर्धा गरेका थिए । विगतका ओलम्पिकमाजस्तै टोकियोमा पनि नेपालको सहभागिता सहभागितामै सीमित रह्यो । नेपालका पाँचैजना खेलाडी ओलम्पिक स्पर्धामा पहिलो चरणबाटै अघि बढ्न सकेनन् । तर पौडीका गौरिका सिंह र एलेक्स शाह तथा सुटिङकी कल्पना परियारले राष्ट्रिय कीर्तिमानमा भने सुधार गरे । जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरीको प्रदर्शन सामान्य रह्यो ।
सुटिङकी कल्पना परियारले महिला १० मिटर एयर राइफल स्पर्धामा ६१६ दशमलव ८ अङ्क बनाउँदै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । परियारले त्यसअघि नेपालमा भएको १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा ६१४ दशमलव ५ अङ्क बनाएकी थिइन् । त्यो बेला पनि महिला १० मिटर एयर राइफलतर्फ यो राष्ट्रिय कीर्तिमान बनेको थियो । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी खेलाडी परियार सागमा चौथो भएकी थिइन् ।
पौडी खेलाडी एलेक्स शाह आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गर्न सफल भए । पुरुष १०० मिटर फ्रिस्टाइलमा उनले निर्धारित दूरी ५३ दशमलव ४१ सेकेण्डमा पूरा गरे । त्यसअघि उनको नाममा ५४ दशमलव १३ सेकेण्डको राष्ट्रिय कीर्तिमान थियो । शाहले सो कीर्तिमान नेपालमा सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग) मा बनाएका थिए।
यसैगरी पौडीकै गौरिका सिंहले पनि टोकियो ओलम्पिकमा आफ्नो कीर्तिमानमा सुधार गरिन् । उनले महिला १०० मिटर फ्रिस्टाइलमा १ मिनेट ११ सेकेण्डको कीर्तिमान बनाइन् । त्यसअघि सिंहले १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा १ मिनेट ५६ सेकेण्डको कीर्तिमान बनाएकी थिइन्
यसैगरी एथलेटिक्स खेलाडी सरस्वती चौधरीले महिला १०० मिटर दौड १२ दशमलव ९१ सकेण्डमा पूरा गरिन् । उनले आफ्नै प्रदर्शनमा समेत सुधार गर्न सकिनन् । त्यसअघि चौधरीले १०० मिटर दौड १२ दशमलव ५५ सकेण्डमा पूरा गरेकी थिइन्। यस्तै जुडोकी सोनिया भट्ट पहिलो चरणमै रसियन खेलाडीसँग पराजित भएकी थिइन् ।
यही साउन ८ गतेदेखि शुरु भएको टोकियो ओलम्पिक १९ दिनसम्म सञ्चालन भएको थियो । सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि पुनः ओलम्पिक आयोजना गरेको हो । नेपालले पनि सन् १९६४ देखि ने ओलम्पिकमा भाग लिन थालेको हो। (रासस)