प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता ओली भेट्न प्रधानमन्त्री देउवा शनिबार विहान भक्तपुरको बालकोटस्थित ओली निवास पुगेका थिए । दुई नेताबीच एमालेले संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री देवाले ओलीसँग संसदको गतिरोध हटाउन अनुरोध गरेको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले बताए ।
भेटमा अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अगाडि बढाउने विषयमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन् ।
एमालेले कारवाही गरेका माधव नेपालसहित १४ संसद माथिको कारवाही रोकेर अवैध रूपमा दल (नेकपा एस) दर्ता गरिएको भन्दै प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
माधव नेपालसहित १४ जनामाथि एमालेले गरेको कारवाहीले मान्यता पाउनु पर्ने, उनीहरूले सांसदको हैसियतमा संसदमा उपस्थित हुन नपाउनु पर्ने र सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने माग एमालेको छ ।
एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन । त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन ।
सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ । जसअन्तर्गत देउवा बालकोटा पुगेका हुन् ।
तस्बिर : गोविन्द परियार