सुभास खकुरेलले अर्धशतक बनाएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।
मूलपानी क्रिकेट मैदानमा ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १५ ओभर चार बलमै सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएपछि बागमतीले महत्वपूर्ण दुई अंक जोडेको हो ।
लुम्बिनीका कप्तान कृष्ण कार्कीले सर्वाधिक १६ रन बनाउँदा बसिर अहमदले ११ रनको योगदान गरे । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । लुम्बिनीका तीन खेलाडी शून्यमा आउट भए ।
बागमतीका नन्दन यादवले सर्वाधिक तीन विकेट लिए । यस्तै रामनरेश गिरी, सुभास खत्री र तिलक भण्डारीले समान दुई विकेट लिँदा राजन ढकालले एक विकेट लिए ।
यसअघि मूलपानी मैदानमा टस जितेर ब्याटिङ गरेको बागमती प्रदेशले सुभास खकुरेलको अर्धशतकप्रेरित खेलमा निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै ११४ रन बनायो ।
लुम्बिनीका दुर्गेश गुप्ता र अनिल खरेलले समान दुई विकेट लिए । जितसँगै समूह ‘बी’ बाट बागमतीले २ अंक जोडेको छ ।
यसैगरी विभागीय टोली एपीएफले प्रधानमन्त्री कप राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
सोमबार सुरू भएको प्रतियोगिताको तेस्रो खेलमा जितका लागि १६४ रनको लक्ष्य पाएको प्रदेश २ निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमा समेटिएपछि एपीएफले २४ रनको जित पाएको हो ।
प्रदेश २ का लागि हरिशंकर शाहले सर्वाधिक ३६ रन बनाए । यस्तै, मोहम्मद आदिल अलामले ३५ रन बनाउँदा सुरज पटेलले १५ तथा विवेक यादवले १३ रनको योगदान गरे । एपीएफका कमल सिंह ऐरी, अभिनाश बोहरा र भुवन कार्कीले २-२ विकेट लिँदा किशोर महतो र शरद भेषवाकरले समान एक विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको एपीएफका लागि प्रदीप ऐरी र आशिफले १२० रनको साझेदारी गरेपछि एपीएफले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १६३ रन बनायो । आशिफले ६३ रन र प्रदीपले ६० रन बनाए । सन्दीप जोराले १७ रनको योगदान गर्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।
प्रदेश २ का रुपेश सिंहले सर्वाधिक चार विकेट लिँदा विवेक यादवले एक विकेट लिए । जितसँगै समूह बीमा एपीएफले दुई अंक जोडेको छ ।