प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रदेशको नाम र राजधानी माघ ३ गते टुङ्गो लाग्ने बताएका छन् ।
प्रदेश २ को आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले गरिब-विपन्नहरूलाई कम्बल वितरण गर्न जनकपुरधाम उपमहानगरपालिका - ७ मा आज आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री साहले माघ २ गते बस्ने प्रदेशसभाको बैठकमा प्रदेशको नाम र राजधानीसम्बन्धी प्रस्ताव प्रस्तुत हुने र माघ ३ गते मतदानद्वारा टुङ्गिने बताए ।
‘‘प्रदेशको नामकरण र राजधानीसम्बन्धी आएका प्रस्तावमाथि छलफल भइरहेको छ”, मन्त्री साहले भने,‘‘ प्रदेशको राजधानी जनकपुर नै हुनुपर्नेमा वीरगञ्जका केही प्रदेश सांसद बाहेक सबै सांसद एकै ठाउँमा छन्, नामको सन्दर्भमा पनि छलफल भइरहेको छ ।”
प्रदेशसभाको अवधि सकिन थोरै मात्र समय बाँकी रहेकाले सबै दलका प्रदेशसभा सदस्यलाई प्रदेशको नाम र राजधानी टुङ्गो लगाउनुपर्ने नैतिक दबाब रहेको उनले बताए ।
शीतलहरका बेला लत्ताकपडाको जोहो गर्न नसक्ने विपन्न, गरिब नागरिकलाई प्रदेश सरकारले राहतस्वरुप कम्बल वितरण गर्ने कार्यक्रम अघि बढाएको मन्त्री साहले बताए ।
कार्यक्रममा मन्त्री साहले जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडाका ५०० गरिब, विपन्न परिवारलाई कम्बल वितरण गरेका थिए । (रासस)