प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले छोटो अवधिमा गरेका कार्य र हासिल भएका उपलब्धिले मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास, सुशासन र समृद्धि हासिल गर्ने बलियो आधार खडा गरेको बताएका छन् ।
प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनको नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितामा वर्तमान सरकार गठन भएको ६ महिना पूरा भएको छ । प्रधानमन्त्री देउवा नेतृत्वको वर्तमान सरकार गत असार २९ गते गठन भएको हो ।
विश्व कोभिड–१९ महामारीको प्रथम, दोस्रो र तेस्रो लहरबाट आक्रान्त भएको उल्लेख गर्दे प्रधानमन्त्री देउवाले नेपाल पनि सङ्क्रमणको उच्च जोखिममा रहेकाले आर्थिक तथा सामाजिक क्षेत्रमा गम्भीर प्रभाव पर्न गएको बताए ।
प्रधानमन्त्री देउवाले भने,- “केही दिनदेखि कोभिड–१९ को नयाँ स्वरुपको सङ्क्रमणको उच्च जोखिमले नागरिकको जीवन रक्षामाथि पुनः चुनौती थपेको छ । हामी सबै मिलेर आर्थिक तथा सामाजिक क्रियाकलापमा कम असर पर्ने गरी यस रोगको नियन्त्रण गर्नु छ ।”
कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले संयम् र धैर्यका साथ जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सुरक्षित जीवनयापनको लागि उनले सबैसँग अनुरोध गरे । सरकारले जारी गरेका स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गरी यस रोगको रोकथाम, नियन्त्रण, निदान र उपचारमा सरकारलाई सहयोग गर्न उनले सबै राजनैतिक दल, समुदाय तथा सबै नेपालीमा अपिल गरे ।
कोभिड–१९लाई नियन्त्रण गर्न खोप नै प्रभावकारी उपाय भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले तीव्ररुपमा फैलिरहेको कोभिड–१९ सङ्क्रमणको तेस्रो लहरको रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहका सरकारका बीचमा समन्वय र सहकार्य बढाइएको बताए ।
यो शताब्दीकै डरलाग्दो माहामारी विरुद्धको लडाईँमा दुई वर्षदेखि निरन्तर खटिएका चिकित्सक, नर्स, प्यारामेडिक्स, सुरक्षाकर्मी, सफाईकर्मी, एम्बुलेन्स चालक र अन्य सबै अग्रपङ्कितमा काम गर्नेहरूप्रति प्रधानमन्त्री देउवाले उच्च सम्मान व्यक्त गरे ।
प्रधानमन्त्री देउवाले संसद्मा रहेका सबै राजनैतिक दलसँग संवाद र सहमतिका माध्यमबाट संसद्को गतिरोध अन्त्य गरी विचाराधीन विषयलाई निष्कर्षमा पुर्याइने उल्लेख गरे ।
एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको उल्लेख गर्दै उनले निर्वाचनका पूर्वतयारीका काम सम्पन्न गर्न सम्बन्धित सबैसँग अनुरोध गरे ।
प्रधानमन्त्रीले तीनै तहको निर्वाचन एक वर्षभित्र गर्ने बताए पनि कुन निर्वाचन कहिले गर्ने भन्ने खुलाएनन् ।
आगामी जेठ ५ गते स्थानीय तहहरूको कार्यकाल सकिँदैछ । सत्तारुढ गठबन्धनमा निर्वाचनको मिति तोेक्नेबारे सहमति जुटिसकेको छैन ।
राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा देउवाले गत असारमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स पुरिएको र सडक सबै भत्काएकाले पुनर्निर्माण गरेर आगामी चैत मसान्तसम्म मेलम्चीको पानी काठमाडौं ल्याइने बताए ।
मेलम्ची खानेपानी आयोजना विकास समितिले चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोलाई नै मेलम्ची पुनर्निर्माणको जिम्मा दिएको छ ।