सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भयो र ! यो गीत तनहुँको थप्रेकस्थित पँधेरामा पानी भर्न पालो पर्खिएकाहरु बीचको गायन-संवादबाट टिपिएको थियो । लोक सृजनाको यो घटना वि. सं. २०३७ वा त्योभन्दा अगाडिको हो । ४१ वर्षअघिदेखि नेपाली लोक परम्परामा गुञ्जित त्यही गीत फेरि रेकर्ड भएको छ, गीतकै आधारमा नाटकीय वृत्तचित्र (डकुड्रामा) बनाइएको छ अनि घुन्सा दुर्घटनामा दिवंगत डा. चन्द्र गुरुङको योगदान र प्रकृति संरक्षणको निरन्तरतालाई भिडियोबाट उजागर गरिएको छ ।
डकुड्रामा भर्चुअल माध्यमबाट हालै सार्वजनिक भएको हो । लोकार्पण समारोहमा विश्वका विभिन्न भागबाट संस्कृति र प्रकृति संरक्षणमा जुटेका व्यक्तित्वहरु सहभागी थिए । तिनैमध्येका एक वैज्ञानिक डा. तीर्थबहादुर श्रेष्ठले डकुड्रामा हेरेपछि जनाएको प्रतिक्रिया नै यस लेखनीको शीर्षक हो । कुन पृष्ठभूमिमा कसरी यो भिडियो बन्यो र केबाट प्रभावित भएर यस्को निर्माण गरियो भन्ने कुरा भिडियोका कल्पनाकार डा. हुमबहादुर गुरुङले जानकारी गराएका छन् । इरिक क्ल्याप्टनको “टियर्स इन हेवन” बाट प्रभावित भएको डा. हुमको सोचको प्रकटीकरण र लोकार्पण कार्यक्रमका वक्ताका भनाइ चन्द्र गुरुङ कन्जर्भेशन फाउण्डेशनको फेसबुकमा हेर्न सकिन्छ ।
डकुड्रामा ३५ मिनेट लामो छ । वास्तविक घटनाहरुलाई एउटा कथामा बुनेर गीत, संगीत, नाच र प्रकृति संरक्षणका प्रयासहरु तथा प्रगति प्रस्तुत गरिएको हो । कथामा वन विज्ञान विषयकी विद्यार्थी एक रेञ्जरको एक महिने स्थलगत कार्यको सिक्लेस बसाइ नै समग्र कथाको सेरोफेरो हो । ती रेञ्जर पोखराको अन्नपूर्ण संग्रहालय पुगेर सिक्लेस जाने बाटो सोध्दै तयारी गर्छिन् र सिक्लेस पुगेर ‘फिल्ड वर्क’ सम्पन्न गर्छिन् । उनलाई शिक्षित बनाउनकै लागि स्वर्गीय संरक्षणविद् डाक्टर चन्द्रप्रसाद गुरुङसंग जोडिएका सन्देश र घटनाक्रमहरु डकुड्रामा मार्फत् सार्वजनिक गरिएका हुन् । डकुड्रामाको शीर्षक “चन्द्र: १६ वर्षे कौरा गीत” (Chandra: A Docu-Drama of late Dr. Chandra Prasad Gurung) राखिएको छ ।
कौरा भनेको "एक लहर लोग्ने मान्छे र एक लहर स्वास्नी मान्छे उभिई डम्फु र खैंजडी बजाएको तालमा नाचगान गरिने एक प्राचीन नृत्य, कडुवा, करुवा" हो (नेपाली बृहत् शब्दकोश) ।
कौरा गण्डकी प्रदेशको एक लोकप्रिय सम्पदा हो । त्यही सम्पदा रहेको भेगमा अन्नपूर्ण र माछापुच्छ्रे हिमालका काखमा सिक्लेस, घान्द्रुक र मुस्ताङ जस्ता ठाउँहरु छन् । ती ठाउँ रहेको भेगलाई अन्नपूर्ण संरक्षण क्षेत्र घोषणा गरी प्रकृति संरक्षणको काम भैरहेको छ । त्यसैको सेरोफेरोमा जोडिएका एक प्रमुख पात्र हुन्- डाक्टर चन्द्रप्रसाद गुरुङ । उनले आफ्नो जन्मस्थल सिक्लेसमा शिक्षा र वातावरण संरक्षणमा उल्लेखनीय योगदान गरेका थिए । प्रकृतिमा रम्ने उनलाई विशेषज्ञ भएको नाताले राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यसचिव बनाइएको थियो । कोषमा तत्कालीन अधिराजकुमार ज्ञानेन्द्र शाह अध्यक्ष रहने व्यवस्था थियो । साथै उनी विश्व वन्यजन्तु संरक्षण कोष (डब्लुडब्लुएफ) को नेपाल प्रमुख पनि भएका थिए । ‘सिक्लेसको ठिटो’ उनको पुस्तक हो ।
उनले जनसहभागितालाई संरक्षणको प्रमुख आधार बनाएका थिए । संरक्षण क्षेत्र मूलत: गुरुङ र मगरहरुको बस्ती र आसपासमा छ । उनले स्थानीय संस्कृति संरक्षणमा जोड दिए, स्थानीयहरुको पढाइमा बल लगाए अनि बेर्ना उमार्ने नर्सरी खोलेर घरबस्तीनजिकै हरियाली बनाउने अभियान चलाए । सिक्लेसमा बिजुली उत्पादन गराएर टुकी युगबाट छुटकारा दिलाएको जश पनि चन्द्र गुरुङलाई छ । “हाम्रो उजाड गाउँलाई हरियाली बनाउने डाक्टर चन्द्र साँच्चिकै चन्द्रमा जस्तै हुनुहुन्थ्यो”, उनको योगदान जानकारी गराइन्छ रेञ्जर नानीलाई । यी सबै अभियानमा जुट्दा चन्द्र गुरुङ अन्नपूर्ण संरक्षण क्षेत्रमा घुमिरहन्थे अनि दोहोर्याइदोहोर्याई सुन्थे कौरा गीत- “सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो ।”
भिडियोको कथामा उनीमात्र छैनन् । ताप्लेजुङको घुन्सामा २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनाबाट अस्ताउन पुगेका डा. हर्क गुरुङ लगायत अनेकौं संरक्षणकर्मीहरुको योगदान स्मरण गरिएको छ भिडियोमा । घुन्सातर्फ प्रस्थान गर्नुभन्दा अघिल्लो रात पनि उनले “सोह्र वर्षे उमेरैमा” गीत सुनेको घटनालाई कथामा समेट्दै प्रकृति र संस्कृतिलाई एकाकार बनाउने प्रयास भिडियोले गरेको छ । मनोरञ्जन, लोकसंस्कृति, जलवायु परिवर्तन र इतिहास अनि भविष्यलाई समेत जोडेर उपलब्धि तथा चुनौतीहरुको सरल ढंगले विश्लेषण गर्ने सफलता भिडियोले पाएको छ ।
यस क्रममा डाक्टर चन्द्रको नाममा स्थापना गरिएको प्रतिष्ठान, सिक्लेसको संग्रहालय र उनी जन्मेहुर्केको घर तथा समग्र सिक्लेस के हो भन्ने तथ्यहरु अवगत गराइएको छ । अझ भन्ने हो भने भिडियोबाट दर्शकलाई सिक्लेस घुमाइन्छ ।
“रेञ्जर नानी”को एक महिने फिल्ड वर्कको समाप्तिमा सिक्लेसमा आयोजित साँस्कृतिक कार्यक्रममा गुञ्जित गीत र मञ्चित नाचले डकु-ड्रामालाई म्युजिक भिडियोको स्वरुप दिने सफलता पनि पाएको छ । “सोह्र वर्षे उमेरैमा” ४१ वर्षअघि रेकर्ड भएको थियो । थप्रेकका युवायुवतीबाट गीत टिप्ने काम कल्याण शेरचन, क्षेत्र गुरुङ र पूर्ण नेपालीले गरेका थिए भने गीतमा संगीत भर्ने काम गोपाल योञ्जनले । २०३७ सालदेखि २०६५ सालसम्म यात्रामा र सांस्कृतिक कार्यक्रममा यो गीतको चक्का घन्किने गरेको थियो ।
टेप रेकर्डर वा क्यासेट प्लेयरमा टर्च लाइटका ब्याट्रीहरु राखेर घन्काउँदै बाटो काट्ने अनि थकाइ लाग्दा चौतारी र देउरालीमा सुस्ताउने गरिन्थ्यो । त्यसरी सुस्ताउँदा पनि दोहोर्यादोहोर्याई सुन्ने र दुनियांलाई सुनाउने नशा स्रोताहरुमा पाइन्थ्यो । त्यसको धूनले नै मानिसहरुलाई थाहै नपाइकन लत लगाउँथ्यो । उमेरको सीमा थिएन । किशोरहरु समेत सोह्र वर्षे उमेरमा झिल्के भएको भन्ने शब्द र लय गुन्गुनाउँथे । ब्याट्री खर्चिएर क्यासेटबाट गीत घन्काउने त्यस्तै सांगीतिक इतिहासका अनुस्मृतिहरुलाई चन्द्रको भिडियोले प्रस्फुटन गरेको छ । साथै कौरा गीत संकलनको इतिहास लेखनलाई परिस्करण गर्न पनि सफल भएको छ ।
गीतका शब्दहरु केलाउने हो भने खासै लामो कथा होइन । तर कौरामा थोरै शब्दमा भावनातीत सन्देश र संस्कृतिको शिष्टताको अपरिमित सीमा पार गरेको हुन्छ र त्यही सीमा पार गर्ने काम प्रस्तुत गीतले गरिरहेको छ । ३ मिनेट ३७ सेकेण्डको गीतलाई लम्ब्याएर ७ मिनेट ३८ सेकेण्डको बनाइएको छ । तर के शब्द थपियो वा किन लामो भयो भन्ने थाहा पाउन सकिँदैन । यो सबै हुनुको कारण हो- कौराको विशेषता । पारखीलाई मात्रै थाहा हुन्छ यो कुरा । यसरी लम्ब्याइँदा भिडियोले दर्शकलाई झन् लठ्ठै पार्छ । डकु-ड्रामा भनिएपनि व्यावसायिक म्युजिक भिडियोको स्वाद यसले दिएको छ । स्तरीय छायाङ्कन छ । रातको समयमा सिक्लेसमा गरिएको कोरियोग्राफी मनमोहक छ ।
नयाँ पुस्ताका गायकबाट संगीतको स्तर पनि अद्यावधिक गरिएको छ । अद्यावधिक गर्दा मूल गीतमा रहेको “दामली’’ लाई “दावली” बनाएर उच्चारणगत सम्पादन गरी “मावली” संग अनुप्रास मिलाउन खोजेको भेटिएको छ । “अहिले पो बुढो भयो र…” भन्ने ठेट गुरुङ-मगर बस्तीहरुको मीठो लवजलाई नै सारा नेपाली स्रोताले मन पराएका हुन् । त्यसलाई जोगाएकै देखिन्छ । मोनो प्रविधिमा रहँदा नै गीतको धून र शब्दबाट आकर्षित भएर आजीवन गुन्गुनाइरहेकाहरुलाई अब स्टेरियो मात्र नभै डिजिटल प्रविधिले गुञ्जित बनाउँदा रोमाञ्चकताको सीमा नाघ्छ । गीतका शब्दहरु यी हुन्-
सैस्सै… सैस्सै ।
हाहा… हाहा…
नानी त रैछ्यौ हाम्रै दामली । ऽऽऽऽ ऽऽऽऽ ऽऽऽ
कहाँ हो नानी घर तिम्रो? कहाँ हो माइती मावली?
ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽऽ
नानी त रैछ्यौ हाम्रै दामली ।
मै लुरे नि भयो तन्नेरी ।
किन नानी नबोलेको? जोवन दिँदाखेरि ।
मै लुरे नि भयो तन्नेरी ।
मै लुरे नि भयो तन्नेरी ।
सैस्सै… सैस्सै ।
हाहा… हाहा…
हा… हा… मै लुरे नि भयो तन्नेरी ।
हा… हा… त्यो फूल लाउने मलाई धोको छ ।
यो नानीको शिरको फूल चोखो छ कि जूठो छ?
त्यो फूल लाउने मलाई धोको छ ।
त्यो फूल लाउने … ।
हा… हा… अहिले पो बुढो भयो र !
सोह्र वर्षे उमेरैमा मै पनि झिल्के हुँदो हो । अहिले पो बुढो भयो र ! अहिले पो ।
सोह्र वर्षे उमेरैमा…
ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ।।।
भिडियोको कथा सविन गुरुङले लेखेका हुन् भने प्रमुख पात्र धनमाया गुरुङ हुन् । मनबहादुर गुरुङ, सुकुना गुरुङ, रमेश श्रेष्ठ र इच्छाबहादुर गुरुङले पनि भूमिका प्रस्तुत गरेका छन् । गीतमा रहेको “दामली”बाट “दावली” हुनु वा संस्कृतीकरणको प्रभाव पर्नुमा भाषिक वा लवजको पुस्तान्तरण हो । शुद्धताका हिसाबले दुवै शब्द शुद्ध हुन् । संस्कृतको दामलबाट दामली बनेको हो भने नेपालीमा दाँवल हो । शब्दकोश हेरेर सोचविचार गरेर नै यो शब्द सम्पादन भएको देखिन्छ । नयाँ रेकर्डिङमा राजु परियार, रामजी खाँड र दुर्गा गुरुङले स्वर भरेका छन् । तर गायक पुराना हुन् कि नयाँ भन्ने पत्तै हुँदैन ।
मलेसियामा बसेर प्रकृति संरक्षण सम्बन्धी अन्तर्राष्ट्रिय निकायमा कार्यरत डाक्टर हुम गुरुङले गरेको अनुसन्धानका आधारमा बनाइएको यो भिडियोमा कथा हैन वास्तविकता छ । सिक्लेसको पहिरन र खानपान छ । भेडाको अर्थतन्त्र, समाजशास्त्र र संस्कार-संस्कृतिको सम्बन्ध छ । सफलताको कथा छ । चन्द्रले सिकाएको बाटोमा अर्को पुस्ता लाग्न सफल भएको कथा छ । सफलताको सूचक भनेको गैंडा र बाघको संख्या वृद्धि भएको तथ्याङ्क हो । अन्य वन्यजन्तुको संख्या पनि बढेको छ । सिमसार संरक्षण र पर्या-पर्यटनबाट जीविकोपार्जनमा टेवा पुगेको छ ।
डकुड्रामाको सन्देश संरक्षणविदहरुको अभाव पूरा गराउन प्रकृति संरक्षणको क्षेत्रमा लाग्न नयाँ पुस्तालाई प्रेरित गर्नु हो । त्यसका लागि चन्द्र गुरुङ प्रतिष्ठान स्थापना गरिएको छ । प्रतिष्ठान समेतको प्रयासमा विभिन्न निकायबाट एक सयभन्दा बढी छात्रवृत्ति प्रदान गरिसकिएको छ । संरक्षण सम्बन्धी चन्द्र गुरुङको अभियानबारे भिडियो भन्छ- विरासत निरन्तर छ ।
भिडियोमा डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डाक्टर घनश्याम गुरुङले पनि अभिनय गरेका छन् । लोकार्पण कार्यक्रममा उनले व्यक्त गरेको उद्गार मार्मिक थियो । शिक्षित भैसकेपछि कतिपयले समाजलाई नै दुख दिने गरेको भेटिने भएपनि चन्द्र गुरुङहरुले आफूले दुख गरेर आफ्नो शिक्षालाई पुस्तान्तरण गरेको सन्देश त्यसबखत उनले व्यक्त गरेका थिए ।
कौराकै बारेमा विचार गर्दा खानेपानी संकलन गर्ने पँधेर्नी नानीहरुमार्फत् "सोह्र वर्षे उमेरैमा" फैलिन पुगेकोले स्थानीय वातावरणलाई भिडियोमा जोडिएको छ । यसका दुइटा प्रतिफल आउन सक्ने देखिन्छ । पहिलो- यो भिडियो मौलिक, अपूर्व र सबै हिसाबले स्तरीय भएकोले यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पाउने निश्चित छ । शैलेन्द्र थकालीले गीतलाई अंग्रेजीमा अनुवाद गरी भिडियोमा सबटाइटल बनाएका छन् जसको मद्दतले गर्दा विदेशीहरुले समेत गीतको अर्थ बुझ्न सक्छन् ।
३५ मिनेटको यो भिडियो कोशेढुंगा बनेर युट्युबमा अपलोड भै एक हप्तामै १३ हजार जनाभन्दा बढीले हेरिसकेका छन् । डा. तीर्थबहादुर जस्तै नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षितले फिल्म हेर्दा आफैं सिक्लेसमा बसिरहेको अनुभूति भएको टिप्पणी गरेका छन् ।
आफ्नो गाउँलाई मात्रै होइन, समग्र नेपालीत्वलाई डकु- ड्रामामार्फत् ऐतिहासिक काम गर्ने जुक्ति निकाल्ने हुमबहादुर गुरुङ त्यस गाउँका तेस्रो पीएचडी र सफल विद्वान् हुन् भन्ने कुरा अस्ट्रेलियाको ग्रिफिथ विश्वविद्यालयले उनलाई सन् २०१९ को "आउटस्टाण्डिङ इण्टरन्याश्नल एलम्नस" उपाधिसहितको भिडियो युट्युबमा राखेको छ । वातावरण विज्ञान उनको विधा हो । प्राकृतिक वातावरण मात्र नभै सांस्कृतिक वातावरणप्रति पनि उनले चन्द्र गुरुङ जस्तै दत्तचित्त रहेको डकु-ड्रामाको योजनाबाटै पुष्टि हुन्छ ।
दोस्रो प्रतिफलमा, प्रस्तुत भिडियो हेर्दै गर्दा यसले अव्यक्त रुपमै संस्कृति र प्रकृति संरक्षण सम्बन्धी भावी बाटो पनि इंगित गरेको छ । भावी पुस्ता वा हुम गुरुङ आफ्नै लागि पनि नयाँ सन्देशमा नयाँ डकुमेण्ट्री वा नयाँ म्युजिक भिडियो बनाउने स्थान खुला छोडिदिएको देखिन्छ । आगामी भिडियो वा डकुड्रामाको आधार पनि यही गीत नै हो । सोह्र वर्षे उमेरैमा आफू झिल्के भएको भन्दै नानीको शिरको फूल लाउने धोको व्यक्त गर्ने पुरुषलाई दिइएको जवाफी गीत के थियो त? नारी स्वरमा यसको जवाफ रहेको अर्को रेकर्डेड गीत पनि विगतमा सुनिएको थियो जुन यस प्रकार छ:
ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ऽऽऽ ।।।
महिला स्वर:
हाहा………. ऽऽऽ ऽऽऽ सानो मायाँ लाउँ कि भनेर ।
यो दाजुलाई भनेर दिनदिन आउँला गनेर ।
सानो मायाँ लाउँ कि भनेर ।
पुरुष स्वर:
यो फूल लाउने मलाई धोको छ । ऽऽऽ ऽऽऽ
महिला स्वर:
पार्छौ कि त हामीलाई बितारा… ।
हामीलाई भने बाउको डर ।
कान्छा तिम्लाई के छ र ?
पार्छौ कि त हामीलाई बितारा?
संरक्षणमा आमा समूहको महत्व र सफल जनसहभागिता झल्काउन “सोह्र वर्षे उमेरैमा” को दोस्रो भागको बाटो प्रस्तुत डकु-ड्रामाले खोलेको हो ।चन्द्र गुरुङ प्रतिष्ठानबाटै अर्को इतिहास निर्माण हुन सक्छ । संस्कृति र प्रकृति संरक्षणमा महिला भूमिका र चन्द्र गुरुङको योगदानको अर्को पाटो पनि उजागर गर्न सकिन्छ । डकु-ड्रामाको दोस्रो भागको निर्माण जहिले गरेपनि हुन्छ । पँधेरामा भेटिएका नारी पात्रहरु सम्बन्धी शोधखोज तुरुन्तै गरिनु राम्रो हुन्छ । मूल सर्जकमध्ये हाल उपलब्ध क्षेत्र गुरुङसंग तत्कालै समन्वय गरी शोधखोज शुरु गरिहाल्नु आवश्यक छ । यस्तो भविष्यपरक खुल्दुली समेत उत्पन्न गराउने डकु-ड्रामा निर्माण गरी इतिहास निर्माण गर्न सफल सबै सदैव प्रशंशाका पात्र रहिरहनेछन् ।
(समीक्षक तिमिल्सिना नेपाल टेलिभिजनका पत्रकार हुन् )