बादल बोकेर नेपाल प्रवेश गर्न लागेको पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले नेपालका धेरै स्थानमा बादल लाग्ने र कैयौं ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाले विशेष बुलेटिन जारी गर्दै बुधबार रातिदेखि शनिबारसम्म जाडो बढाउने गरी बादल, वर्षा र असिनापानी पर्ने जनाएको हो ।
बदलिने मौसमका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने सम्भावना महाशाखाले व्यक्त गरेको छ ।
बुधबार राति (आज) सुदूरपश्चिम प्रदेशबाट न्यून चापीय प्रणाली नेपालमा भित्रिने छ । काठमाडौं उपत्यकामा भोलि बिहीबार रातिदेखि सो प्रणालीको असर देखिने पूर्वानुमान महाशाखाले गरेको छ । शुक्रबार पनि दिनभर बादल लाग्ने भएको छ । काठमाडौंमा शुक्रबार पानी समेत पर्नेछ । देशको मध्य र पूर्व क्षेत्रमा बादल र वर्षा कायमै रहने भएपनि काठमाडौंमा शनिबार अपराह्नदेखि मौसम सुध्रिने अनुमानछ ।
आगामी तीन दिनमा पहाड र तराईका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बिहीबार सुदूर–पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।
शुक्रबार पहाड र तराईका धेरै स्थानमा असिना सहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जारी गरेको विशेष बुलेटिनमा उल्लेख छ । शुक्रबार मध्यम खालको असिना पर्ने सम्भावना रहेको मौसमविदहरुको अनुमान छ । साथै उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । साथै गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ ।
शनिबार गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना रहनुको साथै ती प्रदेशका पहाड तथा तराई भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले विशेष बुलेटिनमार्फत् जानकारी दिएको छ ।