साउथ इन्डियन एक्ट्रेस रश्मिका मन्दना पछिल्लो समय चर्चामा छिन् । उनको सुन्दरता र मुस्कानका निकै धेरै प्रशंसक छन् । गीता गोविन्दम र डियर कमरेडमार्फत बलिउडका दर्शकमाझ पनि उत्तिकै क्रेज बनाएकी रश्मिका यतिबेला बलिउडका थप २ वटा फिल्ममा काम गर्दैछिन् । बलिउड मात्र नभई साउथ इन्डियन केही मेकर्स पनि उनलाई अभिनय गराउन चाहन्छन् । यद्यपि यतिबेला यी सुन्दरीसँग फुर्सद भने छैन । फुर्सद नभएर वा विविध कारणले उनले छोडेका केही फिल्मले निकै चर्चा पाएका छन् । उनले छाडेका फिल्मबारेको यो चर्चा ।
मास्टर
भारतमा पहिलो लहरको कोरोना भाइरसले गरेको असर कम भएपछि रिलिज भएको फिल्म हो ’मास्टर’ । तामिल, तेलुगु, मलयालम, कन्नड र हिन्दी भाषामा रिलिज भएको फिल्मले सय करोडभन्दा माथिको व्यापार गरिसकेको छ। साउथ फिल्म नगरीमा राम्रो फ्यान फलोअर्स भएका विजय थल्पथी अभिनित यो फिल्मले राम्रै चर्चा पायो । ग्लोबल अनलाइन डाटाबेस आईएमडीबीले सन् २०२१ मा भारतमा अहिलेसम्म रिलिज भएका चर्चित फिल्म तथा वेब सिरीजको सूची हालै सार्वजनिक गरेको छ । आधा वर्ष अवधिको यो सूचीमा चर्चाको पहिलो स्थान तामिल फिल्म ‘मास्टर’ ले नै पाएको छ । फिल्ममा विजयसँगै विजय सेतुपतिको मुख्य भूमिका रहेको छ । आपराधिक बाटोमा लागेका बालबालिकाहरुलाई त्यसबाट हटाउन एकजना मास्टरले खेलेको भूमिका फिल्ममार्फत देखाइएको छ । यस फिल्मको लागि निर्माण पक्षले रश्मिकालाई प्रस्ताव गरेको थियो । तर उनले व्यस्तताको कारण देखाउँदै फिल्म गरिनन् । उनले फिल्म नगरेपछि निर्माण पक्षले यसमा माल्विका मोहनलाई अभिनय गराएको थियो ।
जर्सी
पछिल्लो फिल्म ‘कबिर सिंह’ को सफलतासँगै बलिउडमा आफ्नो स्टारडमलाई शाहिद कपूरले प्रस्ट्याईसकेका छन् । बलियो कथालाई न्याय गर्न सक्ने संकेत उनले देखाएका छन् । उनको पछिल्लो रिलिज फिल्म ‘कबिर सिंह’ले पाएको सफलताले मात्र होइन, उनको अभिनय क्षमताको कारण चर्चा बढ्दो छ । केहीँ समय अगाडि ’कमिने’ र ’हैदर’ जस्ता फिल्ममार्फत बलिउडमा आफ्नो दबदबा कायम गरेका शाहिदले नयाँ उपनाम कबिर सिंह पाएका छन् । शाहिद यतिबेला साउथको फिल्म ‘जर्सी’ को रिमेकमा व्यस्त छन् । ‘अर्जुन रेड्डी’ को रिमेकपछि शाहिद पुनः रिमेकमा देखिँदैछन् ।
स्वास्थ्यमा समस्या आउनुको साथै आफन्तवाद हावी भएको कारणले नेशनल टिममा नपर्दा क्रिकेट छाडेका अर्जुन नामक क्यारेक्टरले उमेरले ४० वर्ष काट्नै लाग्दा फेरि क्रिकेट खेल्न थाल्छन् । त्यसपछि उनी नेशनल टिमसम्म कसरी पुग्छन् भन्ने विषयलाई फिल्ममा देखाइनेछ । उनको को–स्टारको रुपमा मृनाल ठाकुर छिन् । यस भूमिकाको लागि रश्मिकालाई अफर गरिएको थियो । उनले यो फिल्म पनि प्राविधिक कारण देखाउँदै गरिनन् । उनले आफ्नो भूमिकालाई लिएर निर्माण पक्षसँग असहमति राखेकी थिइन् ।
संजयलीला भन्सालीको प्रोजेक्ट
रश्मिकालाई एउटा फिल्मको लागि संजयलीला भन्सालीले पनि अफर गरेका थिए । उनले उक्त फिल्ममा रणदीप हुडासँग रश्मिकाको जोडी बाँध्ने योजना बनाएका थिए । तर रश्मिकाले ‘नो’ भन्दा उनको यो प्रोजेक्ट अगाडि बढ्न सकेन । अन्ततः उनको अनटाइटल प्रोजेक्ट अझै ओझेलमै छ । बलिउडमा रणवीर सिंह, दीपिका पादुकोणको स्टारडम पछिल्लो समय संजयकै फिल्मको कारण बढेको थियो । तर, पछिल्लो समय बलिउडमा आफ्नो स्थान बनाउन लागेकी रश्मिकाले संजयको फिल्म नगर्दा यतिबेला खुसी भने छैनन् ।
श्याम सिंह राय
नानी स्टारर फिल्म ‘श्याम सिंह राय’ मा पनि रश्मिकालाई निर्माण पक्षले अफर गरेको थियो । तर, उनले फिल्मको कथा मन नपरेको भन्दै गरिनन् । अन्ततः यो फिल्ममा मेकर्सले साइ पल्लवीलाई कास्ट गरे । फिल्म मेकर्सलाई ‘नो’ भन्नुको कारण कथा भनिएता पनि उनले सेकेन्ड लिड रोल गर्न नचाहेको बताइएको छ ।
किरिक पार्टी
रश्मिकाकै डेब्यु फिल्मसमेत रहेको ‘किरिक पार्टी’ बलिउडमा रिमेक हुने चर्चा नचेलेको होइन । त्यसै फिल्ममार्फत रश्मिकाले साउथ इन्डियन फिल्म नगरीमा पाइला टेकेकी थिइन् । यद्यपि उनले बलिउडमा हुने रिमेकमा भने अभिनय गर्न मानिनन् । फिल्ममा एक्टरको रुपमा कात्तिक आर्यनको नाम आएको थियो । पछिल्लो समय यो फिल्म बन्ने/नबन्ने भन्ने नै अनिश्चित भएको छ।