आफूले केही दिन अघि मात्रै सार्वजनिक गरेको ’पिर’ शीर्षकको साङ्गीतिक भिडियोलाई लिएर आएको विवादबारे त्यसका सर्जक तथा गायक प्रकाश सपूतले आफ्नो भनाइ सार्वजनिक गरेका छन् । गीत र भिडियोको भाषा, शैली, प्रस्तुतिलाई कला र विचारका दृष्टिबाट हेर्न र समीक्षा गर्न आग्रह गर्दै उनले यसलाई राजनीतिकरण नगरिदिन र आफूलाई कुनै कित्तामा नउभ्याइदिन सबैसँग अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्टेटस लेख्दै उनले सो भीडियोमा प्रतीकात्मक रूपमा प्रयोग भएका कुनै दृश्यले कसैको आत्मसम्मानमा असर पुगेको भए त्यसको लागि आफू क्षमाप्रार्थी रहेको पनि उल्लेख गरेका छन् ।
’पिर’बाट आफूले युद्धकै जग-बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको उनले स्पष्ट पारेका छन् । समानताको लागि एकसाथ लडेका कमरेडहरूबीचमा बढ्दै गएको असमानता देखाउन खोजेको उनको भनाइ छ । गीतमार्फत आफूले एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको उनले बताएका छन् । ‘मलाई लागेको - यत्तिको विषय त हामीले टेलिभिजन कार्यक्रमहरूमा हेर्दै आएको होइन र ? पत्रपत्रिकाहरूमा त्यसबारे लेखिदै / पढिँदै आएको होइन र? छर्लङ्गै देखिएको विषय होइन र? स्वीकारिएको विषय होइन र?’ उनले लेखेका छन् ।
गीत सिर्जनाको पृष्ठभूमिबारे स्पष्ट पार्दै उनले लेखेका छन् - ‘६ वर्ष अगाडि करिब चार वर्ष दोहोरी साँझमा काम गर्दा गाउने, बजाउने, पकाउने, पस्कनेमध्येका थुप्रै सहकर्मीहरू पूर्वलडाकु थिए । उनीहरू चरम निराशावादी कुरा गर्थे । त्यो समयमा नै मैले यो विषय डायरीमा नोट गरेको थिएँ । संयोगले अहिले निस्क्यो । यसबाहेक कुनै राजनीतिक पूर्वाग्रह, नियत र उद्देश्य नराखिएको स्पष्ट पार्न चाहन्छु । प्रतीकात्मक रूपमा दृष्यहरू निर्माण गरेर बनाएको एउटा कमरेडको कथा हो ’पिर’ । यो बिचमा मैले यस्ता पात्रहरूको अवस्था, स्वभाव, सोचको अध्ययन गरेँ । केही पात्रहरूसँग भेटेर कुराकानी पनि गरेँ । केही पात्रहरू पढेँ । आममानिसका भोगाइ र संवेदनाहरू बुनेँ र भिडियो बनाएँ । मेरो पेशा र पहिचान यही हो ।’
गीतले भन्न चाहेको कुरा सबैलाई अवगत भइसकेकेको भन्दै उनले भनेका छन्, ‘एउटा सर्जक भएका नाताले आफ्नो सिर्जनालाई लिएर गरिएका अपेक्षा र टिप्पणीहरूको उपेक्षा गर्न हुन्न भन्ने मलाई महसुस भएको छ । मैले सवै खालका प्रतिक्रिया र टिप्पणी हेरिरहेको छु । यतिबेला आफ्नै सिर्जना तपाईँहरूका नजरबाट नियालिरहेको छु । मैले गल्ती गरेको हो कि ? तपाईंहरू (केही) ले गलत बुझ्नुभएको हो, समीक्षा गर्दैछु ।’