नेकपा (माओवादी केन्द्र)ले विचार मिल्ने सबै कम्युनिष्ट घटकसँग सहकार्य एवम् एकता गर्ने भनेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटीको बैठकले समान विचार भएका वामपन्थी पार्टीसँग सहकार्य, एकता गर्दै नयाँ कम्युनिष्ट पार्टीको अवधारणाकासाथ अगाडि बढ्ने निर्णय गरेको हो ।
तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रकाबीचमा चुनावी गठबन्धन र पार्टी एकतासमेत भएको थियो । तर एकता प्रक्रिया तीन वर्ष पूरा नहुँदै टुटेपछि नयाँ आधारमा कम्युनिष्ट पार्टीबीचको एकता र सहकार्यलाई अगाडि बढाउने निर्णय माओवादीले गरेको हो। विचार मिल्ने सबै वामपन्थी पार्टी र समूहसँग सहकार्य गर्दै एकताको प्रक्रिया अगाडि बढाउने बैठकको निष्कर्ष रहेको सो पार्टीले जनाएको छ ।
बैठकले पार्टीका विभागीय प्रमुख तथा प्रदेश इन्चार्जहरू तोकेको छ । जिल्ला इन्चार्ज तोक्ने जिम्मा भने प्रदेश समितिलाई दिइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
माओवादीले जिल्ला समितिलाई जिल्ला समन्वय समितिमा रुपान्तरण गरेको छ । जिल्ला समितिलाई प्रदेश र स्थानीय तहको समन्वय गर्ने जिम्मा मात्रै दिइएको छ । माओवादीले सङ्घीय, प्रदेश र स्थानीय समितिलाई बढी कामकाजी बनाउन लागेको छ ।
यस्तै, वडा, पालिका र प्रदेश अधिवेशनको प्रक्रिया अगाडि बढाउने निर्णय बैठकले गरेको छ । अधिवेशनका लागि आवश्यक पर्ने नियमावली र निर्देशिका तयार पार्ने काम जारी छ । ती तयार भएपछि तल्ला तहमा पठाइनेछ । माओवादीले पार्टीको सङ्गठन विस्तारका साथसाथै राष्ट्रिय स्वाधीनताको रक्षाको विषय, तत्काल कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकताबद्ध हुने विषयलाई पनि प्रमुख प्राथमिकताका साथ अगाडि बढाउने भएको छ ।
त्यसैगरी ‘प्रतिगमन’प्रति सचेत रहँदै शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधिको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रित गर्न सिङ्गो पार्टी कमिटीलाई निर्देशित गरिएको सो पार्टीले जनाएको छ ।