गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले स्थापना गरेको क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार २०७८ वरिष्ठ गायिका हरिदेवी कोइरालालाई प्रदान गरिएको छ । व्यास नगरपालिका–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा शनिबार आयोजित कार्यक्रममा कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
कला संस्कृतिको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएवापत गायिका कोइरालालाई उक्त पुरस्कार प्रदान गरिएको मञ्चका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। उक्त पुरस्कारको राशि नगद रु २५ हजार छ । यसैगरी गीतल राष्ट्रिय पुरस्कार २०७७ कवि प्रोल्लास सिन्धुलीय र २०७८ गायक राज सिग्देललाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु सात हजार छ ।
यस्तै गीतल प्रतिभा पुरस्कार २०७७ लोकगायक शङ्कर परियार र २०७८ लोकगायिका आशा बिसीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि रु पाँच हजार रहेको छ । पुरस्कृत स्रष्टाहरुलाई प्राज्ञ सरुभक्त श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
कार्यक्रममा आदिकवि भानुभक्त क्याम्पसका सहप्राध्यापक नारायणप्रसाद गौतमद्वारा लिखित महाकाव्य सुनकेशरी विमोचन गरिएको थियो । समालोचक महाप्रसाद हडखले (महेश)ले यस महाकाव्यले नेपाली साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । मञ्चले भाषा, साहित्य र कला संस्कृतिको क्षेत्रमा स्थानीय तथा राष्ट्रियस्तरमा महत्वपूर्ण भूमिका खेल्दै आएको सचिव दिवाकर भट्टराईले जानकारी दिए ।
मुटु र मिर्गौलापीडितलाई आर्थिक सहयोग तनहुँ समाज हङकङले मृटुमा समस्या भएकी बालिका र मिर्गौलापीडित एक महिलालाई आर्थिक सहयोग गरेको छ । दुवै पीडितका परिवारलाई समाजले शनिबार रु तीन लाख ९० हजार सहयोग गरेको हो । व्यास नगरपालिका–१४ हर्कपुरकी १६ महिने बालिका सविना थापाको उपचारका लागि रु एक लाख ९५ हजार र मिर्गौलापीडित सोही वडाको ठिनकी १९ वर्षीया खुश्वु रानाको उपचारका लागि रु एक लाख ९५ हजार सहयोग हस्तान्तरण गरिएको छ ।
सोह्र महिने बालिकालाई जन्मिदै मुटुको समस्या रहेको र उपचारका लागि अर्थाभाव भएपछि सहयोग गरिएको समाजका निवर्तमान अध्यक्ष भीमराज गुरुङले जानकारी दिए । ती बालिकाको अप्राकृतिकरूपमा मलद्वार र यौनाङ्गसँगै जोडिएकाले उक्त समस्याको शल्यक्रिया गर्नका लागि सहयोग गरिएको उनले बताए । ती बालिकाको हाल गङ्गालाल हृदयरोग केन्द्र काठमाडौँमा उपचार भइरहेको उनकी आमा तोरन थापाले जानकारी दिए ।
छोरीलाई एकैसाथ दुईवटा समस्या देखिएको र घरको अर्थावस्था कमजोर भएकाले सहयोगको याचना गरेको उनले बताए । व्यास नगरपालिका–१४ ठिनकी १९ वर्षीया खुश्बुको दुवै मिर्गौलामा समस्या देखिएपछि मिर्गौला प्रत्यारोपणका लागि सहयोगको अपिल गरिएको छ । हङकङमा विभिन्न सिलसिलामा गएका ४७ जना तनहुँवासीबाट सङ्कलित उक्त रकम पीडितका परिवारलाई हस्तान्तरण गरिएको छ । समाजका निवर्तमान अध्यक्ष गुरुङ र सल्लाहकार पुष्कर लुङ्गेलीले संयुक्तरूपमा पीडितका परिवारलाई हस्तान्तरण गरेका हुन् ।
उक्त रकम समाजका कोषाध्यक्ष कुशबहादुर थापा र आजीवन सदस्य विक्रम थापाको संयुक्त संयोजकत्वमा सङ्कलन गरिएको संस्थाका सचिव सुवित गुरुङले जानकारी दिए । वडा कार्यालयको सिफारिससहित पीडित परिवारको अर्थावस्था निकै कमजोर रहेको भन्ने पत्र समाजलाई प्राप्त भएपछि सोहीअनुसार रकम सङ्कलन अभियान सुरु गरिएको उनले बताए । रकम हस्तान्तरण गर्दै पूर्वअध्यक्ष गुरुङले गम्भीर रोग लागेका अर्थावस्था कमजोर भएका परिवारलाई समाजले विभिन्न समयमा सहयोग गर्दै आएको बताए ।
“तनहुँ समाज हङकङमा आबद्ध साथीहरूको सामाजिक कामप्रतिको समपर्ण देखेर म आफूलाई पनि सामाजिक काममा थप लगाव बढेको छ”, उनले भने । सोही अवसरमा समाजका सल्लाहकार पुष्कर लुङ्गेलीले रोगको प्रकृति र पीडित परिवारको अवस्थाअनुसार सहयोग गर्ने गरेको बताए । तनहुँमा विगतदेखि नै समाजिक सेवा गर्दै आएको समाजले नेपाली दुःख पीडामा परेको खबर प्राप्त भएपछि नेपालीसँग समन्वय गरी कमाइबाटै सहयोग रकम पठाउँदै आएको छ ।