नेपाली कांग्रेसका संस्थापनइतरका नेताहरूले पार्टीको क्रियाशील सदस्यताको सबै काम सकेर मात्र अधिवेशन प्रक्रिया शुरु गर्न सुझाव दिनुभएको छ । पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभरका जिल्लामा एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराउनुभएको हो ।
बैठकले जिल्ला सभापतिको मागप्रति ऐक्यबद्धता जनाएको छलफल सहभागी नेता बलबहादुर केसीले जानकारी दिनुभयो । पार्टीको केन्द्रीय निर्वाचन समितिका केही पदाधिकारीसहितको बैठकमा क्रियाशील सदस्यता, अधिवेशन तालिका, जिल्ला सभापतिका मागलगायतका विषयमा छलफल भएको उहाँले बताउनुभयो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशाङ्क कोइराला, पूर्व महामन्त्री प्रकाशमान सिंह, नेताहरु डा. रामशरण महत, अर्जुननरसिंह के.सी., दीलेन्द्रप्रसाद बडू, डा. मीनेन्द्र रिजाल, बलबहादुर के.सी., शेखर कोइरालालगायत उपस्थित हुनुहुन्थ्यो ।
कांग्रेसका केही जिल्ला सभापतिले क्रियाशील सदस्यताको सम्पूर्ण सूची तत्काल सार्वजनिक गर्नुपर्ने, क्रियाशील सदस्यतालाई पार्टी विधानअनुसार अन्तिम रुप दिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउने गरी निर्वाचन निर्देशिकालाई संशोधन गर्नुपर्नेलगायत माग गरेका छन् । कांग्रेसको संस्थापनइतर पक्षका जिल्ला सभापतिले सो माग गर्दै मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । उनीहरूले आजदेखि रिले अनशन पनि अघि बढाएका छन्। अनशनमा नुवाकोटका सभापति जगदिश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, धादिङका सभापति रमेश धमला, नेपाल विद्यार्थी सङ्घका पूर्व अध्यक्ष रञ्जीत कर्ण र पूर्व उपाध्यक्ष डिल्लीराम सुवेदी बस्नुभएको छ ।
यस सन्दर्भमा पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललगायत नेताको सहमतिमा नै क्रियाशील सदस्यताको सबै निर्णय गरिसक्नुभएको र सो कार्यान्वयनको चरणमा गएको बताउनुभएको छ । सभापति देउवाले निर्धारित समयमै अधिवेशन गराउन वरिष्ठ नेता पौडेलको सहमतिमा निर्णय गर्नुभएको र जिल्ला सभापतिका माग पनि स्वीकार भइसकेको सन्दर्भमा अनशन किन भनी उहाँले प्रश्न गर्नुभयो ।
सोमबार राति कांग्रेसले पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यतालाई अन्तिम रुप दिएको थियो । नेताहरु कृष्णप्रसाद सिटौला, डा. मीनेन्द्र रिजाल र रमेश लेखकसहितको कार्यदलले क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्यसम्पन्न गरी त्यसको प्रतिवेदन पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेललाई बुुझाएको थियो । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत गाउँ/नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन अगामी असोज ५ गते हुनेछ । यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।