फिल्म ‘युगदेखि युगसम्म’बाट प्रारम्भ भएको अभिनेता राजेश हमालको अभिनय यात्रा अझै निरन्तर छ । पछिल्लो समय ठूलो पर्दामा ‘ब्रेक’ लिएका राजेश म्युजिक भिडियोमा भने सक्रिय छन् । तर फिल्ममा आउन भने उती सहज नभएको उनी स्वयंले बताएका छन्।
उनले शिक्षित परिवारमा जन्म पाए। ‘बुवाले बनारसबाट मास्टर्स गर्नुभएको थियो । ममीले पनि त्यहिँ पढ्नुभएको थियो । बनारसमै उहाँहरुको प्रेम भयो र पछि विवाह भयो’, राजेशले सुनाए । पिता कुटनीतिक सेवामा हुनुहुन्थ्यो । त्यसैले उनको स्कुले जीवन तीन चारवटा देशमा हुनगयो । राजेशले उच्च शिक्षा भने भारतबाट लिए ।
शिक्षित मातापिताका सन्तान भएकाले राजेशले पनि राम्रो शिक्षा पाए । विस्तारै उनको लगाव फिल्मीक्षेत्रतर्फ बढ्यो जुन् उनका मातापितालाई मन परेको थिएन। जब उनले फिल्मनगरी नै रोजे त्यसपछि भने आफ्नै परिवारसँग पनि दूरी बढ्यो।
‘मेरो साथी सर्कल सबै अर्कै पेशामा थिए, त्यसैले यहाँ सपोर्ट पाउने कुरै भएन’, उनले सम्झिए । घरमा बुवा र मुमाको पनि अरू नै काम गर्नुपर्छ भन्ने सुझाव थियो। राजेश सम्झिन्छन् ‘परिवार कलाप्रेमी नभएको हैन, तर नेपाली फिल्ममा भविष्य छैन भनेर उहाँहरुले मलाई सपोर्ट गर्नुहुन्नथ्यो ।’ त्यसपछि उनी केही समय परिवारसँग टाढाझैँ भए । यद्यपि, राजेश आफ्नो सफलताको श्रेय परिवारलाई नै दिन्छन् ।
उनको एउटै दुखेसो छ, उनले बुवासँग संवाद गर्न पाएनन् । जब उनी परिवारको मञ्जुरीबिना फिल्मी दुनियामा हामफाले बुवासँगको सम्वाद टुट्यो। एकातर्फ उहाँको असन्तुष्टि अर्कोतर्फ फिल्ममा आफ्नो व्यस्तता ।
उनको बुवाको पहिलो र अन्तिम पोस्टिङ पाकिस्तान नै भयो । पाकिस्तानमै हुँदा बुवाको असामयिक निधन भयो । तत्कालीन पाकिस्तानी राष्ट्रपतिलाई भेटेर नेपाल दूतावास जाने क्रममा राजेशका पिताको निधन भएको थियो ।
‘काम गरिरहेको छु र एकदिन अवश्य बुवालाई मनाउनेछु भन्ने थियो, तर अचानक उहाँको निधनको खबर आयो’, भावुक हुँदै राजेशले सम्झिए।
उनले बुवालाई ‘गुड बाई’ भन्न पाएका थिएनन् । ‘त्यतिबेला फिल्मको भविष्य अहिलेको जस्तो सहज थिएन, त्यसैले उहाँ केही रुष्ट हुनुहुन्थ्यो र अन्तिमपटक पाकिस्तान जाँदा मलाई नभेटी जानुभयो’, राजेशले सुनाए ।
राजेश त्यतिबेला चलचित्र ‘गोपी कृष्ण’को छायाँकनमा थिए । उनले बावु र छोराबीच अव्यक्त प्रेम भएपनि त्यसलाई व्यक्त गर्ने समय नमिलेको संकेत गरे । ‘समय छ भन्ने लाग्थ्यो, तर समय त कहाँ रहेछ र ?’, उनले भावुक भावमा सम्झिए , ‘सफल हुँदै थिएँ र एक दिन त आउला, जब हाम्रो माया व्यक्त होला भन्ने लागेको थियो, तर त्यो सम्भव भएन ।’
३० वर्षभन्दा बढी अभिनयमा बिताएका राजेशलाई फिल्म जति खेलेपनि उत्कृष्ट फिल्म भने नखेलेको आरोप छ । उनले यो आरोपको पनि खण्डन गर्दै आएका छन्।
‘इतिहासलाई तपाईंले अहिलेको आँखाबाट हेर्नुभयो भने धेरै कमजोरी देख्नुहुन्छ । मैले ज्यादा फिल्म किन गरेँ भने त्यतिबेला मलाई लाग्यो ज्यादा फिल्म बन्न जरुरी छ । जब तपाईंसँग छनोटको अवसर हुन्छ, तब तपाईंले क्वालिटीको कुरा गर्ने हो । नेपाली फिल्मको अवस्था पनि त्यही थियो । त्यो समय फिल्म बनाउन चाहनेलाई हतोत्साही गर्नु सही थिएन ।’