पश्चिमी युरोप अहिले बाढीको चपेटामा छ। पछिल्लो जानकारी अनुसार बाढीमा परेर मृत्यु हुनेको संख्या १५७ पुगिसकेको छ। बाढीबाट सबैभन्दा ठूलो क्षति जर्मनीमा भएको छ। मृतकहरूमध्ये १३३ जना जर्मनीकै छन्। अरू सयौं मानिसहरू हराइरहेका छन्। दोस्रो ठूलो क्षति बेल्जियमले बेहोरेको छ। त्यहाँ हालसम्म २४ जनाको मृत्यु भैसकेको छ। लक्जेम्बर्ग, नेदरल्याण्डस् र स्वीजरल्याण्ड पनि बाढीको पीडामा छन्। पश्चिमी युरोप क्षेत्रमा लामो समयसम्म मुसलधारे वर्षा हुँदा कतिपय बस्ती त पुरै डुवानमा छन्।
गाउँ तथा शहरहरू पूरै डुवानमा रहेको, मोटरकारहरू बगेको, पहिरोमा परेर घरहरू पुरिएको जस्ता दृश्यसहितका तस्बीर तथा भिडिओ दृश्यहरू सार्वजनिक भैरहेका छन्। पानीको सतह बढ्दैगरेको अवस्थामा पनि उद्धारकर्ताहरू मानिसहरूलाई बचाउने र हराएकाहरूको खोजी गर्ने काममा जुटिरहेका छन्। जर्मनीले उद्धारका काममा ८५० जना सैनिक परिचालन गरेको छ। जर्मनीको उत्तरी राइन-वेष्टफालिया क्षेत्रमा मात्रै उद्धार तथा राहतका काममा २२,००० जना जुटेको त्यहाँको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
जर्मनीको कोलोन शहर नजिको एर्फत्स्ताड नामक गाउँमा एकाएक जमिन भासिंदा वरिपरिको पानी सबै त्यहीं खनिएर कैयन् घरहरू भत्किएका छन्। त्यसमध्येमा एउटा प्राचीन स्मारक समेत परेको संचार माध्यमहरूले जनाएका छन्।
बाढी प्रभावित कतिपय क्षेत्रमा विद्युत सेवा तथा संचार सम्पर्क समेत विच्छेद भएको वताइएको छ। यसले गर्दा मानिसहरूले आफन्तहरूको अवस्थाबारे जानकारी पाउन पनि सकिरहेका छैनन्। सडकहरू धेरै ठाउँमा विग्रेको कारणले उद्धार तथा राहत सामग्री परिचालनमा समेत समस्या भैरहेको छ। सडक भत्किएर जान नसकिएका ठाउँहरूमा हेलिकोप्टर मार्फत उद्धारकर्मीहरू तथा आवश्यक सामग्री पुर्याउने र क्षतिको आँकलन गर्ने काम भएको छ।
जर्मनीका राष्ट्रपति फ्र्याङ्क-वाल्टर स्टेन्मेइर स्वयम् बाढीग्रस्त रेइन-एर्फ्ट क्षेत्रमा जानुभई बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। बाढीग्रस्त क्षेत्रको अवस्था प्रत्यक्ष देखेपछि उहाँले अनुमानै गर्न नसकिने क्षति भएको र यो सबै सफा गरेर पहिलेकै अवस्थामा पुर्याउन निकै लामो समय लाग्ने बताउनुभयो।
पहिले कहिल्यै अनुभव नगरिएको डरलाग्दो मुसलधारे वर्षा अहिले भैरहेको भन्दै युरोपेली अधिकारीहरूले यो सबै जलवायुमा आएको परिवर्तनकै असर भएको वताएका छन्। औद्योगिक युग शुरु भएयता विश्वको तापमानमा १.२ डिग्री सेल्सियस वृद्धि भैसकेको छ।