नेकपा एकीकृत समाजवादीले प्रदेश सांसदलाई होटलमा राखेर बन्दक बनाएको अरोप लागेपछि नेकपा (एस)मा खुलेका प्रदेश १ का सांसदहरुले चार दिनमा होटेल छोडेका छन् ।
एमालेले एकीकृत समाजवादीले प्रदेश सांसद्हरुलाई होटेलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सांसदले सोमबार साँझदेखि होटल छोडेका हुन् । उनीहरू गत शुक्रबारदेखि विराटनगरको बिग होटेलमा बस्दै आएका थिए ।
होटल छोडेसँगै उनीहरुले विराटनगर नै छोडेका छन् । होटेलमा बस्दा विभिन्न आरोप आएपछि होटेल छोडेको नेकपा (एस)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।
आफू इटहरीमा रहेको र केही अन्य सांसदहरु धरानतिर गएको राइले बताए । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुन्छ । होटेलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटेल छाडेका हौँ’, राईले भने।
अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनीताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।
मगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । तर प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।