जनै पूर्णिमाको अघिल्लो दिन श्रावण शुक्ल चतुर्दशीमा पशुपति क्षेत्रमा विशेष चहलपहल देखिन्छ । साधु–सन्त, पुरोहित, र भक्तजनहरू सबैको ध्यान आजको एक पवित्र कर्ममा केन्द्रित हुन्छ- पवित्रारोहणमा ।
पवित्रारोहण भन्नाले भगवान् पशुपतिनाथलाई नयाँ यज्ञोपवीत, अर्थात् जनै फेर्ने धार्मिक विधिलाई जनाइन्छ । यो कर्म केवल धार्मिक विधि मात्र होइन, नेपाली सनातन परम्पराको गहिरो सांस्कृतिक अभिव्यक्ति पनि हो । जहाँ आम मानिसले श्रावण शुक्ल पूर्णिमाका दिन जनै फेरेर रक्षाबन्धन मनाउँछन्, त्यहाँ पशुपतिनाथलाई भने एक दिनअघि नै जनै फेर्ने चलन छ । यसले उहाँको अगुवाइको प्रतीकात्मकता झल्काउँछ, उहाँ पहिले फेर्नुहुन्छ, अनि भक्तजनले अनुशरण गर्छन् ।
पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरीले यो कर्मको विधिवत् आयोजना गर्छ । कचहरीका द्वारे रामकृष्ण डङ्गोलका अनुसार, “पशुपतिनाथलाई जनै फेर्ने काम केवल धार्मिक विधि होइन, यो हाम्रो सांस्कृतिक निरन्तरताको प्रतीक हो ।” यही निकायले पशुपति क्षेत्रमा सञ्चालन हुने जात्रा र पर्वहरूको व्यवस्थापन पनि गर्दै आएको छ ।
जनै फेरेपछि पशुपतिनाथ गोसाइँकुण्ड जानुहुन्छ भन्ने पुरानो विश्वास पनि छ । ज्येष्ठ नागरिकहरू यो कथा सुनाउँछन्-जनै फेरेपछि उहाँ गोसाइँकुण्डको यात्रामा जानुहुन्छ, जहाँ उहाँले आत्मशुद्धि गर्नुहुन्छ । यो विश्वासले पवित्रारोहणलाई एक आध्यात्मिक यात्रा प्रारम्भको रूपमा पनि हेर्ने परिपाटी बनाएको छ ।
पशुपति क्षेत्र आज केवल एक मन्दिर होइन, जीवित सांस्कृतिक सम्पदा हो । यहाँको प्रत्येक कर्म, पर्व, र परम्परा, जस्तै पवित्रारोहण हाम्रो पहिचान, आस्था, र इतिहाससँग गाँसिएको छ । जनै फेर्ने यो दिन केवल धागो बदल्ने दिन होइन, आत्मशुद्धिको स्मरण हो । नयाँ जनैसँगै नयाँ संकल्प, ऊर्जा, र आस्था बोकेर भक्तजनहरू आफ्नो जीवनयात्रा अघि बढाउँछन् ।