ठूलो दशैंमा दशमी प्रमुख दिन मानिने चलन छ । तर चेते दशैंमा अष्टमी सबभन्दा महत्वपूर्ण मानेर चैते दशैँ भनिन्छ । आज हो चैते दशैं । अष्टमी व्रत पनि हो आज । दशैं भनेको देवी भगवतीको आराधना गर्ने पर्व हो ।
बडादशैं जस्तै चैते दशैंमा पनि प्रतिपदामा घटस्थापना गरी शक्ति साधकहरुले देवीको उपासना गर्छन् । वेदको देवी सूक्त, पुराणहरुमध्ये देवी भागवत् पुराण र सप्तशती (चण्डी) पाठ गरेर देवीबाट शक्ति आर्जन गर्ने साधकहरुको परम्परा छ । चण्डीपाठ बढी प्रचनलमा छ । असत्यमाथि सत्यको जित नै साधनाको लक्ष्य हो । त्यो जित आफैँमाथि पनि हो ।
पोखराको विन्ध्यवासिनी, काठमाडौं गोकर्णेश्वरको जागेश्वरी भगवती, बागलुङको कालिका मन्दिर लगायत शक्तिपीठहरुमा पाठपारायण गरिँदैछ ।
आज विभिन्न बली दिने पनि चलन छ । गोरखामा गोरखकालीको व्रतउपासना गरिन्छ । देवीको उपासना गर्दा हवन समेत गर्ने साधकहरु पनि हुन्छन् । नवार्ण मन्त्र जप गरेर सिद्धि प्राप्त गर्ने पनि चलन रहेको विद्वानहरुले नेपालीत्व समाचारलाई बताएका छन् ।
चैत्र नवरात्रका अवसरमा गोकर्णेश्वर नगरपालिका–४ मा रहेको जागेश्वरी भगवती मन्दिर परिसरमा हारती माताले शरीरमा १०८ अखण्ड दीप प्रज्ज्वलन गरेकी छन् । चैत्र शुक्ल प्रतिपदाका दिन चैत १९ गतेदेखि उनले आधुनिक विज्ञानलाई चुनौती दिँदै मन्दिर परिसरमा इँटाले बनाएको शरीर अट्ने भागमा सुतेर त्यसमाथि १०८ अखण्ड दीप प्रज्ज्वलन गरेकी छन् ।
चैत्र नवरात्रकै अवसरमा देशका विभिन्न ठाउँमा देवीभागवत् नवाह महायज्ञ पनि लगाइएको छ । पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा बसेर शक्तिसाधना गर्दै आएका पीठाधीश स्वामी निशेषानन्दको अगुवाईमा काभ्रेको पनौतीमा पनि यस्तै नवाह देवी भागवत् महायज्ञ लगाइएको छ ।
पोखराकै जस्तो विन्ध्यवासिनी मन्दिर उद्घाटन गरिसकिएको छ । श्रीखण्डपुरको सो महायज्ञ चैत्र नवरात्रिको समाप्तिसँगै भोलि सम्पन्न हुने जनाइएको छ ।