आपसी भेटमा अभिवादन गरिन्छ- 'राम ! राम !!' मृत्युपछि शवयात्रामा पनि भनिन्छ- 'राम राम, राम नाम सत्य होओस्' । जीवनभर जपिन्छ- 'हरेराम हरेराम, रामराम हरेहरे' ।
हिन्दीमा "राम नाम सत्य हो" भनिन्छ भने नेपालीमा हिन्दीको "हो" लाई "होओस्" भनेर अनुवाद गरिन्छ । "जय हो" लाई जय होओस् भने जस्तै । यसरी राम नाम सत्य हुनुको पछाडि दार्शनिक अर्थ निहित छ । मानिसले सम्झिनै पर्ने सत्य भनेको जीवनमा र जीवनपछि पनि एउटै कुरा सत्य हो त्यो भनेको राम नै हो, बाँकी सबै भ्रम हो अनि अस्थायी हो । आर्जन गरेको भनिएका सबै कुरा एक दिन छोडेर जानु पर्छ ।
लैजाने भनेको आफ्नो कर्म मात्रै हो । सबै कुरा छोडेर गएपनि लैजाने राम नाम मात्रै हो । त्यसैले जीवन छँदै राम नाम जप्ने र आत्मालाई परमात्मासँग जोड्ने हो । केवल राम मात्रै सत्य हो । शवयात्रामा मलामीहरु शव बोकेर हिँड्छन् तर तिनलाई कहीँकतै कोहीकोहीलाई चेतना हुन सक्छ आफू पनि भविष्यमा त्यसरी नै शव बनेर जानु पर्छ, आफूले अहिले आर्जन गरेका सबै कुरा छोडेर । सबैलाई चेतना जगाउन भनिन्छ- राम नाम सत्य हो, बाँकी सबै ब्यर्थ हो ।
यही सत्य दर्शनलाई अवलम्बन गरी सन्तोष हासिल गर्न विश्वमा विभिन्न प्रयोगहरु भैरहेका छन् । सनातनीहरुले त रामायणमा आधारित परम्परागत कार्य गर्दै आइरहेकै छन् । भौतिक सुविधा र लोभ कम र आध्यात्म आकर्षण बढी राख्ने गरेकै छन् । पश्चिमा असन्तुष्टिहरु पनि यसै दर्शनतर्फ मोडिँदै गरेको पाइन्छ । रामायण, महाभारत र गीता दर्शन पश्चिमा विद्यालयहरुमा पढाउने गरिन्छ ।
वर्तमान "समृद्ध" समाजमा व्याप्त क्यान्सर, अल्झाइमर जस्ता असाध्य रोगका बेला हुने पीडा न्यूनीकरणमा पनि राम र कृष्णका नामहरुको जप सहयोगी सिद्ध भैसकेको छ । "हरेराम" महामन्त्र जप्दा बिरामीको अवस्थामा उल्लेखनीय सुधार भएको नतिजा दर्जनौैं अनुसन्धानहरुमा पढ्न पाइन्छ ।
यसरी नाम जप्दा सांसारिक मोह कम हुने र आनन्द पनि प्राप्त हुने भएकोले समकालीन संसारमा अन्तर्राष्ट्रिय कृष्ण चेतना समाज (इस्कोन) ले हरेराम महामन्त्र जप्ने अभियान सञ्चालन गर्छ ।भगवान विष्णुको सातौं अवतारको रुपमा राम र आठौं अवतार कृष्ण भएकोले दुवै अवतारलाई जोडेर भजनकीर्तन गर्दा झन् बढी आत्मिक, मानसिक र शारीरिक शान्ति प्राप्त हुने गर्दछ ।
यो जपलाई हरेराम महामन्त्र भनिन्छ । यसमा कृष्ण जोडेर हरे राम हरेराम राम राम हरेहरे भनेर पनि महामन्त्रका रुपमा जपिन्छ । हरेकृष्ण महामन्त्र भन्दै राम र कृष्णको एकसाथ भजन गाउने चलन पनि छ । हरेराम हरेकृष्ण महामन्त्र जप्दा तनाव घटेको भन्ने पनि अनुसन्धानहरुका नतिजा छन् ।
शरीर भनेको केवल खानकै लागि हो भन्दै जथाभावी भोजन गर्ने र सुविधा उपभोगमा मात्रै ध्यान दिनाले मानिसहरु आफैं जर्जर र रोगी बनिरहेका छन् । त्यस्तो हुन नदिन राम र कृष्णका नाममा व्रत उपवासको चलन चलेको कुरा इस्कोनकै अभियानले पनि पुष्टि गरेको छ ।
हरेराम वा हरेकृष्ण नै यस्तो पद्धति हो जसमा देशको भौगोलिक सिमाना, धनीगरीब र सानोठूलोको भेद छैन । त्यसैले विश्वका विभिन्न ठाउँमा मनाइन्छ रामनवमी । रामको जन्मोत्सवको रुपमा । उनको जीवनशैली, सदाचार र शिष्टाचारका घटनाक्रमहरु स्मरण गरिन्छ । नाटकहरुमा नक्कल पनि गरिन्छ । रामायणका कथाहरु सुनाइन्छ ।
मन्दिर र पूजा कोठामा पुजिन्छन् उनी । फोटोमा पनि पुजिन्छन् । कहीँ ढुंगामा पनि । वास्तवमा मानिसले उनलाई पुजेको होइन । त्यो पुजन उनको आदर्श, सदाचार र मर्यादाका लागि हो । अनि, पूजा हो अर्चक आफ्नै । अनित्य संसारमा सदाचारको कृति मात्रै छोड्ने हो भन्ने सम्झिँदै । कृति भनेको असत्यको नाश गर्ने हो, सत्य स्थापित गर्ने हो । त्यसो गर्दा पहिले आफैंलाई चिन्ने हो ।
त्यसकै लागि मन्दिरहरु बनाइएका छन् जहाँ पुगेर रामको आदर्श आत्मसात गर्न पाइयोस् । बारम्बार सबैलाई झक्झक्याइरहोस्- राम नाम मात्रै सत्य हो, बाँकी सबै भ्रम हो, सबै छोडेर जानु पर्छ । त्यसैको प्रार्थना हो- "राम नाम सत्य होओस्", सबैका लागि । अरु नाम हजारौं नाम जपेको फल एउटा राम नाम जपेरै पाइन्छ र मोक्ष प्राप्त हुन्छ भनिएको छ-
"यथात्रैव तावत्केवलं रामनामैव सकृद्वदतोऽपि बृहत्सहस्रनामफलमन्तर्भूतरामनामैकोन
सहस्रनामकं सम्पूर्णम् ।"