नेपाली कांग्रेसको आगामी मंसिरको २४ मा शुरु हुने भनिएको १४ औं महाधिवेशन नजिकिँदै गर्दा हालसम्म प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको मात्र उम्मेदवारी निश्चित छ । देउवाको विपक्षमा रामचन्द्र पौडेल, शशाङ्क कोइराला, शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ, विमलेन्द्र निधि लगायतका नेताहरू आकाङ्क्षी देखिएका छन् ।
वर्तमान कार्यसमितिमा उपसभापति रहेका विमलेन्द्र निधीले यो महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार हुने घोषणा गरिसकेका छन् । यसअघिसम्म उनी देउवा खेमाकै खम्बा मानिएका व्यक्ति हुन् । त्यसैले उनलाई बसाउन देउवा खेमाबाट हरसम्भव प्रयास हुने देखिन्छ यद्यपि उनले यसपाली आफू पछि नहट्ने बताउँदै आएका छन् । उनी उम्मेदवार बने नै भने देउवालाई केही क्षति पुग्ने देखिन्छ ।
वर्तमान केन्द्रीय सदस्य कल्याण गुरुङले पनि सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । तर उनको उम्मेदवारीले त्यति चर्चा पाएको देखिंदैन । उनलाई सशक्त उम्मेदवार नठानिएको पनि हुनसक्छ ।
अन्य आकांक्षीहरू रामचन्द्र, शशाङ्क, शेखर र प्रकाशमान संस्थापन इतरका नेताहरू हुन् । सामान्यतया पौडेल समूहका भनेर चिनिएका यी चारैजना नेताले पार्टी सभापतिको लागि उम्मेदवार बन्ने आकांक्षा त राखेका छन् तर आफूहरूमध्येबाट एकजना मात्रै उम्मेदवार हुनु पर्छ भन्नेमा पनि सचेत देखिएका छन् । त्यसैले उनीहरू निरन्तर आपसी छलफलमा जुटिरहेका छन् ।
पछिल्ला दिनमा प्रकाशमान सिंह अल्ली आक्रामक ढङ्गले प्रस्तुत हुन थालेको देखिएको छ । आफ्नै निर्वाचन क्षेत्रमा चुनाव हारेकाहरूलाई सभापतिको उम्मेदवार बनाएर के आशा गर्ने भन्दै पटक पटक सार्वजनिक रूपमा आएको उनको अभिव्यक्ति वरिष्ठ नेत रामचन्द्र पौडेल र शेखर कोइरालातर्फ सोझिएको देखिन्छ । उनी सहमतिमा आफूलाई उम्मेदवार बनाउने सो समूहको ढाँचाकाँचा नदेखेर समूहबाट टाढिएको भन्ने समाचारहरू पनि आएका छन् । तर उनीजत्तिको नेताले बुझेकै हुनु पर्छ फुटेर चुनाव लड्दा आउनसक्ने परिणाम कस्तो होला भनेर ।
बाँकी रामचन्द्र, शशाङ्क र शेखरले भने आफ्नो-आफ्नो भित्री तयारी गरे पनि सार्वजनिक रूपमा भने म नै उम्मेदवार हुनुपर्छ भनेर भन्दै हिंडेका छैनन् । संस्थापनइतरबाट एकजना मात्रै साझा उम्मेदवार हुनुपर्छ र उसलाई सबै मिलेर सघाउनु पर्छ भन्ने नै उनीहरूको भनाइ आएको देखिन्छ ।
देउवाइतरबाट एउटै साझा उम्मेदवार तय गर्न सक्नु पर्दछ होइन भने शेरबहादुरजीलाई बुझाइदिए हुन्छ भन्ने शशाङ्कको स्पष्टोक्तिले कांग्रेसमा भावी नेतृत्वको अवस्था मोटामोटी स्पष्ट हुन्छ नै । भएसम्म मलाई समर्थन गर होइन भने पनि हामीमध्येबाट एक जनामा सहमति गर बरु म छोड्न तयार छु भन्ने वरिष्ठ नेता पौडेलको भनाइ पनि सुझबुझपूर्ण नै देखिन्छ । त्यसैले यी नेताहरूले यति यति कारणले मेरो उम्मेदवारी बलियो हुन्छ र तपाइँहरूले मलाई सघाउनु पर्छ भनेर आपसी छलफलमा भनेपनि बाहिर मै हो उम्मेदवार भन्दै घोषणा गर्दै हिंडेका छैनन् । उनीहरूबीचमा आआफ्नो अडान कायमै रहेकाले अहिलेसम्म कसैप्रति पनि सहमति जुट्न सकेको भने छैन ।
शेखर कोइरालाको विगतका वर्षदेखि नै जारी देश दौडाहा र राजनीतिक सक्रियतालाई हेर्दा उनले आगामी महाधिवेशनमा पार्टी नेतृत्वको लागि भरपूर तयारी गरेको देखिन्छ । कोइराला परिवारबाट अर्का सशक्त मानिएका महामन्त्री शशाङ्कलाई मनाउन सकेको खण्डमा २ जनाको मत उनीतर्फ हुने हुँदा उम्मेदवारीको लागि उनको नै पल्ला भारी हुने देखिन्छ ।
यसरी हेर्दा अहिलेको लागि पार्टीमा आफ्नो स्थान परीक्षण गर्नका लागि पनि शेखर, प्रकाशमान, विमलेन्द्र निधि लगायत केही नेताले पहिलो चरणको निर्वाचनमा शेरबहादुर विरुद्ध उम्मेदवारी दिने सम्भावना छ । तर पटक पटक महाधिवेशनको मिति सारेको कांग्रेसले विभिन्न बहानामा अझै पनि महाधिवेशनको मिति धकेल्ने हो की भन्ने आशङ्का भने कायमै छ ।